देउवालाई दबाब दिन कास्कीका कांग्रेस नेता काठमाडौंमा

केन्द्रीय नेतृत्वबाटै पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्कीका कांग्रेस नेताहरू काठमाडौं आइपुगेका छन् । 

सभापति किशोरदत्त बरालसहितको टोलीले केन्द्रीय नेताहरूलाई दबाब दिने र पोखराको मेयर आफैंले पाउनुपर्ने माग राख्ने छन् । 

टोलीमा पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितका नेता छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई बुधबार भेटेर पोखराको जनमतबारे स्पष्ट पारिने सभापति बरालले बताए । 

‘अहिलेसम्म निर्णय भएको छैन । कांग्रेसबाहेक अरुले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडाै‌ पुगेका हौं’, उनले भने, ‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन् । अरूलाई दिएर चुनाव जित्न पनि सकिँदैन ।’  

डेढदेखि दुई सय जना नेता-कार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए । 



उनले भने, ‘गठबन्धन गर्ने निर्णय ठिकै छ । तर, जनतमतको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेकाे हो । जनमतको आधारमा विभाजन हुनुपर्छ । हामी मेयर छोडेर जान सक्ने अवस्थामा छैनौं । डालाको चामल मानामा खन्याउँदा पोखिन्छ । मानोको चामल डालोमा हाल्दा ठिक हुन्छ । पोखरामा कांग्रेस डालो हो, अरू माना हुन् ।’

उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ ।



केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा नेकपा एकीकृत समाजवादीको भागमा पर्न सक्ने संकेत छ । यद्यपि, यसबारे अझै निर्णय भैसकेको छैन । 

‘निर्णय सच्याउनुपर्छ, नत्र हामी अस्विकार गर्छौं । जबरजस्ती निर्णय लाद्न खोजे आफैं निर्णय गरेर पोखरामा कांग्रेस जिताउँछौं’, पूर्वमन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘प्रमुख पद छोड्नु कांग्रेसका लागि महंगो हुनेछ ।’

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले पराजित भएको पोखरामा अहिले एमाले फुटेपछि कांग्रेसलाई जित्ने आस छ । 

माओवादी पनि अघिल्लो चुनावमा आफूहरूले कांग्रेसलाई सहयोग गरेको भन्दै पैँचो फिर्ता हुनुपर्ने माग राखेको छ । समाजवादीले समेत मेयरमा जित्ने दावी गरेको छ ।


 

  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १६:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया