राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्ताे बताएका हुन् ।
उनले नेताहरूले कमिसन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएकाे जिकिर गरे।
नेताहरू र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको अध्यक्ष लिङ्देनकाे भनाइ छ ।
उनले भने, ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए ? बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । नोट कहाँ गयो ? नेताहरूको घरमा । कमिसनको नाममा । भ्रष्ट्राचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्याे । यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्याे ।’
अध्यक्ष लिङ्देनले राप्रपालाई सहयाेग गरे नेताहरूकाे घरकाे पैसा कागजकाे खाेस्टाे बनाइदिने प्रतिज्ञा गरे ।
उनले भने, ‘एकचोटि राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देनजस्तो मान्छेहरूलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरूको नोट घर-घरमै कागजको खोस्टो बनाइदिन्छौं हामी । एकचोटि सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’
अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरूले पार्टी र नेता फेर्ने बेला आएको पनि बताए ।
‘हामी परिवर्तित हुने हो । हाम्रै जीवनकालमा यो देश बनेको हेर्ने हो भने हामीले पार्टी र नेता फेर्ने बेला आएको छ । कोही भन्नुहुन्छ- कांग्रेस, एमाले, माओवादी, मधेसवादीलाई कतिचोटि भोट दियो भने चाँहि यो देश बन्छ होला? तिनैलाई भोट दिएर देश बन्छ भन्नु भनेको त साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तो हो’, उनले भने ।
उनले देशका ठूला राजनीतिक पार्टीले देशलाई बर्बादीको बिन्दुमा पुर्याएकाे आरोप पनि लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।