आज विक्रम संवत् २०७९ साल अर्थात् वैशाख १ गते । देश तथा विदेशमा रहेका नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गर्दै आज नयाँ वर्ष धुमधामका साथ मनाउँदै छन् ।
राजनीतिक दलका नेताहरूले पनि शुभकामना दिँदै नयाँ वर्ष २०७९ को स्वागत गरेका छन् । उनीहरूले आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै शुभकामना सन्देशसमेत दिएका छन् । यसपटक स्थानीय निर्वाचन ३० वैशाखमा हुँदैछ ।
निर्वाचनको मिति नजिकिएसँगै नेताहरू प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उनीहरूले नयाँ वर्षको शुभकामना सन्देशमार्फत पनि चुनावी प्रचारप्रसारलाई निरन्तरता दिए ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त नयाँ वर्षको शुभकामना दिँदै भोटसमेत मागेका छन् । ‘देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ,’ प्रचण्डले सन्देशमा भनेका छन्, ‘लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपील गर्दछु ।’
अर्को सत्ता साझेदार दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गरेर नयाँ वर्षको शुभकामना दिएका छन् । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं । यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौं,’ उनले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को सुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ ।’
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव केन्द्रित सन्देश जारी नगरे पनि साझा लक्ष्य प्राप्तिका लागि सबैबीच एकता हुन भने आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
‘गत वर्षको अनुभवलाई शिक्षाका रूपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्नुपर्छ,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्, ‘मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वाेपरी लक्ष्य रहेको भन्दै उनले यस साझा लक्ष्यलाई प्राप्त गर्न सम्पूर्ण नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ वर्षको शुभकामना सन्देश दिनुका साथै सत्ता गठबन्धनमाथि आक्रोशसमेत पोखेका छन् । उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउदाको पीडा पनि सन्देशमा व्यक्त गरेका छन् । ओलीले आफू सत्ताबाट हटेपछि विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको पनि उल्लेख गरेका छन् ।
‘गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरूका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरूको जङ्गली आकांक्षा, कुण्ठा र इर्ष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो । विसंगति, वेथिती र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ,’ ओलीले सन्देशमा उल्लेख गरेका छन्, ‘बितेको वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ । व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायामुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रूपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ ।’
उनले अहिले सरकार आफूहरूले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा सत्ताशक्तिको अनुचित भागवण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित भइरहेको पनि आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।