[स्थानीय तह निर्वाचन] सुदूरपश्चिममा गठबन्धनलाई सकस

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै गठबन्धनका दलहरूबीच भागबण्डा सुरु भएको छ । अन्य क्षेत्रमा जस्तै सुदूरपश्चिममा पनि गठबन्धनलाई मिलाउन हम्मेहम्मे परेकाे छ ।

खासगरी नेकपा एकीकृत समाजवादीले एमालेकै हैसियतमा सिट माग्न थालेपछि गठबन्धनको प्रदेशस्तरको बैठकमा कुरा मिल्न सकेको छैन ।

बैठकमा सहभागी एक नेताले भने, ‘एकीकृत समाजवादीले धेरै ठाउँमा भाग माग्न खोजेको छ तर, एमाले फुटेको असर पर्ने गरी समाजवादीको संगठन भने छैन ।’

एकीकृत समाजवादीले भने सुदूरपश्चिममा नै आफ्नो बढी प्रभावी क्षेत्र रहेको दाबी गर्दै आएको छ । 

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा प्रदेश सांसददेखि स्थानीय जनप्रतिनिधिको संख्या सुदूरपश्चिममा अन्य प्रदेशभन्दा बढी रहेकाले बढी दाबी गरिएको समाजवादीका नेताहरूले बताएका छन् । 

अछामको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिका प्रमुख जीवनराम थापा, डडेल्धुराको आलिताल नगरपालिका प्रमुख गणेश साउँद, बैतडीको पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद नेकपा समाजवादीमा आएका छन् ।



यस्तै, बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी एकीकृत समाजवादीमा आएका छन् । 

कैलालीको घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत, अछामको साफेँबगर नगरपालिका उपप्रमुख वीरमाला बुढथापा, पुनर्वास नगरपालिका उपप्रमुख शारदा शर्मा विष्ट, कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष दीपादेवी साउद पनि समाजवादीमा छन् ।



कञ्चनपुरमा एमालेलाई पनि हम्मेहम्मे

स्थानीय तह चुनावका लागि उम्मेदवार छनाेट गर्न नेकपा एमाले कञ्चनपुरलाई हम्मेहम्मे परेको छ । 

वडाध्यक्ष र सदस्य पदकै उम्मेदवार छनाेटमा नगरलाई सकस परेपछि जिल्ला कमिटी बैठकले आकांक्षीबारे पुनः वडामा छलफल गर्न निर्देशन दिएको छ ।

बुधवार सुडास्थित एक पार्टी प्यालेसमा बसेको एमालेको पूर्ण बैठकले वडा कमिटीमा पुनः छलफल गरी सर्वसम्मत नाम नगर कमिटीमा पठाउन भनेको हो। 

‘आकांक्षीजति सबैका नाम वडाले नगरमा पठाएर आफ्नो बोझ कम गरेजस्तो काम गर्‍याे’, एक जिल्ला नेताले भने, ‘अझै घनिभूत ढंगले सबै आकांक्षीबीच छलफल चलाएर अधिकतम प्रयास गर्न भनेका हौं ।’

तलैबाट अहिल्यै मत बाझाबाझ र मन माझेर सर्वसम्मत ढंगले नाम सिफारिस गर्दा यसले चुनावी परिणाम सकारात्मक आउने भएकाले जिल्लाले यस्तो निर्देशन दिएको उनले बताए । 

उनले भने, ‘त्यसो भएन भने नगरले सिफारिस गरे अनुरूप जिल्लाले टुंग्याउछ।’ 

भोलिसम्म त्यसरी छलफल गरेर नाम सिफारिस गर्न जिल्लाले निर्देशन दिएको हो।

यस्तै, एमालेको पूर्ण बैठकले नगर प्रमुख र उपप्रमुखको हकमा जिल्ला पदाधिकारी र केन्द्रीय सदस्य नेताको राय, सुझाव संकलन गरेर प्रदेश कमिटीमा नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १५:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया