[स्थानीय निर्वाचन] एमालेबाट कसले पाउला हेटौंडाको मेयरमा टिकट ? सिफारिस भएका तीनैजना ढुक्क

यही ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनका लागि राजनीतिक दल तीव्र तयारीमा जुटेका छन् । चुनावी प्रचारका लागि केन्द्रीय नेताहरू पनि गाउँ-गाउँ पुग्न थालेका छन् । 

मकवानपुरमा पनि केन्द्रीय नेताहरूको उपस्थिति बाक्लै देखिन थालेको छ । निर्वाचन मिति नजिकिएसँगै दलहरूभित्र आफ्नो स्थानीय तहमा को बलियो भन्ने अड्कलबाजी पनि भइरहेको छ । नेकपा एमाले मकवानपुरले जिल्लाको १ सय २ वटै वडामा आफ्नो पार्टीको अध्यक्ष तथा वडा सदस्यको उम्मेदवारी सिफारिस गर्ने काम सकिसकेको छ ।

जिल्लाको १० वटै पालिकामा उम्मेदवार सिफारिस लगभग सकिसकेको एमाले जिल्ला इन्चार्ज रामेश्वर रानाले जानकारी दिए । राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउँदै गर्दा बागमती प्रदेश राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकालाई धेरैले चासोका साथ हेरेका छन् । 

अघिल्लो निर्वाचनमा ठूलो शक्तिको रूपमा रहेको एमालेले हेटौंडामा आसन्न निर्वाचनमा पनि आफ्नो साख जोगाउनको लागि ठूलै कसरत गरिरहेको छ । उसले उम्मेदवारहरू सिफारिस गरेर जिल्ला कमिटीमा पठाइसकेको छ । साथै, एमालेले केही पालिकामा निर्विरोध उम्मेदवारसमेत छनोट गरिसकेको छ ।

नेपाली कांग्रेसको अगुवाइमा पाँच दलको गठबन्धन आसन्न चुनावी मैदानमा उत्रिने भएपछि एमाले  एक कदम अगाडि बढ्ने दाउमा छ । उसले हेटौंडाको मेयरमा तीनजनाको नाम सिफारिस गरिसकेको छ । सिफारिसमा परेका तीनजना उम्मेदवारको विषयमा अब केन्द्रले नै निर्णय गरेर पठाउने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । 

‘तीन जनामध्ये कसलाई मेयरको टिकट दिने भन्ने विषयमा हाम्रो छलफल जारी छ’, उनले भने । एमाले हेटौंडा नगर कमिटीको सोमबार बसेको बैठकले मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न नसकेपछि बुधबार जिल्ला कमिटीले तीन जनाको नाम सिफारिस गरेको छ ।



उपमहानगरपालिकाका वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र गणेशकुमारी श्रेष्ठको नाम सिफारिसमा परेको हो ।  

दोहोरिने दाउमा महत



पाँच वर्षसम्म मेयर पदको जिम्मेवारीमा रहेका मेयर हरिबहादुर महत पुनः हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा आउने योजनामा छन् । उनी यसपटक पनि मेयरको टिकट पाउनेमा ढुक्क छन् । 

‘आफ्नो निजी निर्णयले भन्दा पनि जनताको मागअनुसार मैले मेयरमा पुनः आउनुपर्ने देखिएको छ । आकांक्षा देखाएको कारण पार्टीले सिफारिस त गरेको छ । अब के हुन्छ, टिकट पाइन्छ कि पाइँदैन, त्यो भने हेर्न बाँकी नै छ,’ महतले भने ।

२०७४ को निर्वाचनमा महतले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्दै हेटौंडाको मेयरमा एमालेबाट जित हात पारेका थिए । उनी कांग्रेसका आनन्दराम पराजुलीलाई ६ सय १५ मतले पछि पार्दै हेटौंडाको मेयरमा निर्वाचित भएका हुन् । महतले २३ हजार १ सय २४ र पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।

पौडेल पनि आशावादी

एमाले मकवानपुर जिल्ला कमिटीको बैठकबाट आउँदो निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि सिफारिसमा परेका अर्का व्यक्ति हुन्- अनन्त पौडेल । संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेश संगठन विभाग प्रमुखसमेत रहेका पौडेल मेयरको टिकट हात पार्नका लागि दाैडधूपमा छन् । 

उनले आफू अब हेटौंडाको मेयर बन्ने बताउँदै टिकट आफ्नै पोल्टामा आउने दाबीसमेत गरे । पौडेलले हेटौंडामा विकास निर्माण, जनताका आवश्यकता र अपेक्षा पूरा गर्न पनि आफूले मेयरमा उम्मेदवारी दिएको बताए । मेयरको टिकट आफैंले पाउनेमा उनी पनि उत्तिकै आशावादी देखिन्छन् । 

श्रेष्ठ पनि ढुक्क

मेयरमा सिफारिसमा परेकी गणेशकुमारी श्रेष्ठ पनि आफूले मेयरको टिकट पाउनेमा ढुक्क छिन् । ३५ वर्षदेखि पार्टीमा लागेर हिँडेकाे बताउने उनी अब पार्टीको सहयोगमा हेटौंडाको मेयर बन्ने बताइन् । 

‘जिल्ला र प्रदेशको निर्णयबाट हुने भए मैले नै टिकट पाउँछु भन्नेमा दुई मत हुने नै थिएन । हामीले केन्द्रको निर्णय कुर्नुपर्छ । जस्तो निर्णय आउँछ, त्यसमै खुसी भएर अघि बढ्ने छु’, श्रेष्ठले भनिन् । आफूले टिकट नपाए पनि खुसी भएर निर्वाचन केन्द्रित हुने उनले बताइन् । 

  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १२:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया