मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका २० राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतउपर उजुरी आह्वान गरेको हो।
१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।
उनले भने, ‘अहिले मन्त्रिपरिषदले २० जना राजदूतको सिफारिस गरेको छ । उनीहरूको बारेमा समितिको बैठक बसी उजुरी आह्वान गर्याैं । १० दिनको टाइम दियौं । १० दिनभित्र जसलाई उपयुक्त वा अनुपयुक्त के लाग्छ, त्यसबारे जनताबाट उजुरी मागेका छौं । यो उजुरीको लागि आज समितिमा सर्वसम्मतिले निर्णय गर्याैं । र, यो उजुरी अनुसार नै १० दिन बितेपछि सुनुवाइको काममा लाग्छौं हामी ।’
गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी, डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरब राजदूत सिफारिस गरिएको थियो ।
घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो ।
प्रस्तावित राजदूतहरूको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ । त्यसपछि उनीहरूको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरूको नाम अनुमोदन गर्नेछ ।
समितिले अनुमोदन गरेका राजदूतहरूलाई राष्ट्रपतिले नियुक्त दिने संवैधानिक व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।