सत्ता साझेदार पाँच दलको बैठकले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका जनप्रतिनिधिलाई सोही पालिकामा उम्मेदवार बनाउने निर्णय गरेपछि बझाङमा पनि उसले पाउने पालिका र वडा लगभग तय भएका छन् ।
एकीकृत समाजवादीले एमाले छाडेर आफ्नो पार्टीमा आएका जिल्लाभरिका जनप्रतिनिधिहरूको विवरण संकलन गरिरहेको छ ।
बझाङ जिल्ला कमिटी उपसचिव गणेश बोहरा नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारिरहेको हो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य समेत गरी करिब ४४ जनाभन्दा बढी जनप्रतिनिधि आफ्नो पार्टीमा खुलेको जिल्ला कमिटी उपसचिव बोहराले दाबी गरेका छन् ।
उनले भने, ‘खुल्ने क्रम जारी छ । अहिलेसम्म सबै पालिकाको अन्तिम विवरण जिल्लामा आइसकेको छैन ।’
तर, एमालेले जितेका १ नगरपालिका र ७ वटा गाउँपालिका गरी ८ स्थानीय तहका प्रमुख/उपप्रमुख मध्ये २ जना मात्रै एकीकृत समाजवादीमा खुलेका छन् ।
बझाङका १२ वटै पालिकाका एकीकृत समाजवादीका नेताहरूका अनुसार केदारस्युँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका प्रमुख/उपप्रमुख एमालेबाट समाजवादीतर्फ खुलेका हुन् ।
अन्य पालिकाका जनप्रतिनिधि भने एकीकृत समाजवादीमा खुलेका छैनन् । केदारस्युँ गाउँपालिकामा ४ र थलारा गाउँपालिकामा १ जना वडा अध्यक्ष समाजवादीमा खुलेका छन् ।
यस हिसाबले मंगलबार भएको केन्द्रको सहमति पालना भएमा बझाङमा २ स्थानीय तह एकीकृत समाजवादीको भागमा पर्ने पक्का भएको छ ।
अन्य स्थानको हकमा संगठन र अहिलेको अवस्थालाई हेरेर गठबन्धनले बाँडफाँट गर्ने भएकाे छ ।
जिल्लामा सोही सहमति पालना गरेर अगाडि बढ्न दलहरू लागि परे पनि केदारस्युँ गाउँपालिकामा एकीकृत समाजवादीको उम्मेदवार उठाएर छविसपाथिभेरा गाउँपालिकामा आफ्नो पार्टीको उम्मेदवार उठाउनुपर्ने नेकपा माओवादी केन्द्रले अडान लिएको छ ।
केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधिले पार्टी विभाजनको बेला एकीकृत समाजवादीमा सनाखत गरे पनि छविसपाथिभेरा गाउँपालिकाका जनप्रतिनिधिले सनाखत नगरेको र पछिल्लो समयमा समाजवादीमा देखिएकाले उक्त पालिका आफूले पाउनुपर्ने माओवादी केन्द्रको धारणा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।