झापाकाे दमकबाट नेपथ्यको पुनरोदय
तस्बिर : टेक बयलकोटी

महामारीकालीन लामो विश्रामपछि नयाँवर्षकै दिन पूर्वको सहर दमकबाट नेपथ्यको भव्य पुनरोदय भएको छ। एकपछि अर्को ‘लकडाउन’ले दुई वर्षसम्मै बिथोलिएको यो सहर बिहीबार फेरि जागेको देखिन्थ्यो। 

साँझपर्दै गएपछि सरस्वती माध्यमिक विद्यालयको फराकिलो फुटबल मैदानमा पूर्वाञ्चलभरिबाट भेला भएका युवा–युवतीले टन्नै भरिएको थियो भने मञ्चबाट छरिएको उज्यालोका आभाले भुइँदेखि आकाशसम्मलाई चम्किलो बनाएको थियो।

यस्तै, माहोलका बीच टोलीसहित उपस्थित ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले नयाँ वर्षको शुभकामना प्रकट गर्दा दर्शक दीर्घाबाट चर्को आवाजका साथ स्वागत गरिएको थियो।अमृतले कन्सर्टको प्रारम्भ नै पूर्वी नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी...’ बाट गरेका थिए। उक्त गीत उनले पैदल यात्राका क्रममा चैनपुरवासी पुराना लोकगीत साधक डिल्ले दमाईबाट संकलन गरेका थिए।

त्यसपछि लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेडाको ऊनजस्तो’ हुँदै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’ अनि ‘जोमसोमे बजार’ले निरन्तरता दिउन्जेल मैदानका अधिकांश भागमा नृत्यरत तन्नेरीहरु देखापर्न थालिसकेका थिए। मुलुकका फरक–फरक भेगको प्रतिनिधित्व गर्ने यी गीत प्रस्तुत गर्दाका क्रममा अमृतले उपस्थित श्रोता–दर्शकलाई आफ्नो देश घुम्न र यसलाई बुझ्न अनुरोध पनि गरिरहेका थिए। 

चुनावको माहोलमा डुब्दै गरेको दमकमा उपस्थित दर्शकलाई उनले मतदानका निम्ति प्रोत्साहित गर्दै भविष्यका प्रति आशावादी हुन हौस्याए। मुलुकमा व्याप्त बेथितिको चर्चा गर्नुका साथै नयाँ वर्षसँगै सकारात्मक सोचको विकास गर्न पनि उनले आह्वान गरे।

करिब दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानका साथ नेपथ्य दमकमा उपस्थित हुँदा व्यवस्थित होटलसमेत नपाइएको यो सहरको हेर्दाहेर्दै कायाकल्प भएकामा उनले खुसी प्रकट गरे। त्यतिबेला कन्सर्टबाट उठेको रकमले सहरकै उत्तरी कुनामा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा सघाउने काम गरिएको थियो।



‘मै मरिजाउँला’, ‘शिरफूल शिरैमा’, ‘जोगले हुन्छ भेट’, ‘आँगनैभरि’ देखि ‘यो जिन्दगानी’सम्म एकपछि अर्को सर्वकालिक हिट गीत सुनाउँदाकै क्रममा बाह्रौँ गीतको पालो आउँदा भने माहोलमा नयाँ तरंग फैलियो। 



त्यतिबेला नेपथ्यले कन्सर्टका दर्शकहरुलाई आफ्नो नयाँ गीत सुनाउने जमर्को कसेको थियोः

लेकैको लालीगुराँस, काली काली केसलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’

गीतकार मन्जुलले १९ वर्षकै उमेरमा रचना गरेको यो गीतीकविता पछि पुस्तकका रुपमा पनि प्रकाशित भयो। ‘पुस्तक पढ्दै गर्दा यो कविताले मलाई मोहित पारेको थियो,’ अमृत भन्छन्, ‘बारम्बार पढेकाले कविता कण्ठस्थै थियो।’ तर, उक्त कवितालाई गीतमा ढाल्ने काम भने अमृतले निकै पछि गरेका रहेछन्।

‘झण्डै एक दशकअघि म पैदल यात्रा गर्दै पूर्वतर्फ लाग्दा एउटा दृश्यले मलाई भित्रैदेखि रोमाञ्चित बनाएको थियो,’ उनी भन्छन्, ‘ओखलढुंगाको कोष भञ्ज्याङमा हिँड्दाहिँड्दै उत्पन्न त्यो रोमाञ्चकताले नै मलाई त्यस पुरानो कविताको सम्झना गराइदियो।’

अमृतका अनुसार त्यस दिन भर्खर बिहे गरेर आएको एउटा जोडी केही छिनको निम्ति सहयात्री बन्न पुगेका थिए। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगिएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो।

‘त्यो दृश्यले मलाई यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘त्यसको दुई–तीन दिनमै दिक्तेलतर्फ उक्लँदै गर्दा लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले त्यस कवितालाई संगीतबद्ध पारेको हुँ।’

गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छः

‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’

अमृतका अनुसार त्यो अन्तरालाई खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतबद्ध गरिएको थियो।
‘यसरी दशकअगाडि पूर्वाञ्चलको पैदल यात्रामा तयार पारेको गीतलाई मैले नयाँ परिवेशसहित सुरु भएको नयाँ वर्षकै दिन पारेर पूर्वाञ्चलकै कन्सर्टमा कोसेलीस्वरुप पहिलोपटक प्रस्तुत गरेको हुँ,’ अमृतले स्पष्ट पारे।

जति रात पर्दै गयो उति रमाउँदै गएका दर्शकसामु त्यसपछि पनि नेपथ्यले लगातार ‘गाउँ गाउँबाट उठ’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेपछि बिदा लिएको थियो।

कन्सर्टमा उपस्थित दर्शकहरु पूर्वाञ्चलका विभिन्न भेगबाट आइपुगेका देखिन्थे। तिनैमध्ये नेपथ्यलाई अनुभव गर्नका निम्ति बिर्तामोड देखि आएका जन्मैदेखि नेत्रज्योति गुमाएका विवेक भट्टराई पनि थिए।

आफूजस्तै अवस्थाका साथी रमेश चौलागाईंसँगै आएको जानकारी दिइरहँदा उनी अर्कोतिर मञ्चबाट आइरहेको आवाजमा आवाज मिलाएर गाउने क्रमलाई पनि जारी राख्दै थिए।

‘गीत भनेको सुन्ने कुरा नै हो,’ कन्सर्टका बेला दृश्य अनुभव गर्न नपाए पनि आफूलाई कुनै पछुतो नभएको बताउँदै उनले थपे, ‘नेपथ्यका गीत सुनेरै हुर्केका कारण असाध्यै रमाइलो लागिरहेको छ।’

पाँच हजार दर्शकले भरिएको भीडमै कन्सर्ट हेर्नकै निम्ति सिक्किमको सोरेङबाट आएका नवीन र विश्वास लिम्बू अनि सिक्किमकै गेजिङबाट आएका मन्दीप सुब्बा पनि देखिन्थे।आफूहरुले सिक्किमको जुनसुकै भेगमा आयोजना हुने नेपथ्यको कन्सर्टमा सदैव उपस्थिति जनाउँदै आएकोमा यसपाला लामो समयको न्यास्रो मेट्नका लागि नेपालकै यात्रासमेत गरेको जानकारी उनीहरुले दिए।

स्थानीय ‘नेपाली टच’र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ को अगुवाइमा आयोजना गरिएको कन्सर्टमा गायक अमृतलाई सधैँझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १८:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया