इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा हैदराबाद कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटले विजयी भएको हो । १७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि राहुल त्रिपाठी र एडेन मार्करमले अर्धशतकीय पारी खेले । ७१ रन बनाएका त्रिपाठीले ३७ बलमा चार चौका र ६ छक्का प्रहार गरे । मार्करम ३६ बलको सामना गर्दै ६ चौका र चार छक्कासहित ६८ रनमा अविजित रहे । कप्तान केन विलियमसनले १७ जोडे । कोलकाताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।
यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
कोलकाताका लागि नितिश रानाले ५४ रनको अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । आन्द्रे रसेल २५ बलमा समान चार चौका र छक्कासहित ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आय्यरले २८ रन जोडे ।
हैदराबादका टि नटराजनले तीन, उर्मान मलिकले दुई तथा भुवनेश्वर कुमार, मार्को जेन्सेन र जगदिश सुचितले एक/एक विकेट हात परे । यो जितसँगै सातौं स्थानको हैदराबादले पाँच खेलमा ६ अंक जोडेको छ । पराजित कोलकाताले भने शीर्ष स्थानमा उक्लने मौका गुमायो । उ ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।