काठमाडौं । २०७२ को भूकम्पमा भत्किएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेका छन् । आफ्नो पहिलो प्रधानमन्त्रीकालमा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान सुरु गरेका थिए ।
२०७२ मा भत्किएको खण्डहर धरहराअघि उभिएर ओलीले भनेका थिए, ‘मेरो धरहरा मै बनाउँछु । यसका लागि कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । इँटा, खर्पन, डोको जे बोक्न पर्छ म बोक्न आउँछु ।’
मै बनाउँछु मेरो धरहरा सुुरु गरेको तीन वर्षपछि ओली फेरि भत्किएको धरहराको फेदमा पुगेर पूजापाठ गरेर फर्किएका छन् । बिहीबार धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘धरहरा हाम्रो मान हो, शान हो, स्वाभिमान हो ।’
यसअघि नेपाल टेलिकमले धरहरा निर्माणको जिम्मा लिने गर्ने वाचा गरेपनि पुरातत्व विभागले टेलिकमको प्रस्ताव अस्वीकार गरेको थियो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार टेलिकमले व्यावसायिक कम्प्लेक्ससहित धरहरा बनाउने प्रस्ताव गरेको थियो ।
बिहीबार आयोजित कार्यक्रममा आफ्नो अघिल्लो कार्यकाल स्मरण गर्दै ओलीले भने, ‘मैले विसं २०७२ फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा । हरेक नेपालीको नारा । हरेक नेपालीले यो नारालाई लिएर हिँड्नुपर्छ ।’
प्रधानमन्त्रीले सुुरु गरेको मेरो धरहरा म आफैँ बनाउँछु अभियानको कोषमा हालसम्म २४ करोड रुपैयाँ जम्मा भएको छ । दुई वर्षदेखि निष्क्रिय कोषलाई पुनः सञ्चालनमा ल्याउने तयारी पुनर्निर्माण प्राधिकरणको छ । धरहरा पुनर्निर्माणका लागि यही कोषबाट रकम खर्च गर्ने तयारीमा प्राधिकरण छ ।
विसं १८८२ मा भीमसेन थापाले निर्माण गरेको धरहरा यसअघि विसं १९९० सालको भूकम्पमा पनि भत्किएको थियो । सुरुमा ११ तला रहेको धरहरा १९९० को भूकम्पमा भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले नौ तला बनाएर निर्माण गर्न लगाएका थिए ।
२०७२ मा आएको भूकम्पमा फेरि धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भयो । त्यसयता धरहरा पुनर्निर्माणमा विभिन्न विवाद जन्मिए । अहिले धरहरा २२ तलाको बनाउने भनिएको छ । तर, पुरातत्वविद्ले धरहरा २२ तलाको बनेमा पुरातात्विक सम्पदा संरक्षण भएको भन्न नमिल्ने बताउँदै आएका छन् ।
धरहरा ऐतिहासिक सम्पदा हो या कुनै व्यावसायिक स्तम्भ मात्रै हो भन्ने कुरा हेक्का नराखी २२ तले टावर निर्माण गर्ने हो भने प्रधानमन्त्री ओलीले भन्ने गरेको ‘सम्पदाको संरक्षण’ भनाइ अर्थहीन हुने पुरातत्वविद्को तर्क छ ।
पुरातत्व विभागले अन्तिम रूप दिएर पुननिर्माण सुरु गरिएको धरहरा पहिलाको भन्दा दुई गुणा अग्लो हुनेछ । निर्माणको ठेक्का जिआइइटिसी÷रमन जेभीले पाएको छ । कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्ने जिम्मा पाएको छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पमा भत्केको धरहरालाई सिसाको फ्रेमले छोपेर त्यसैको छेउमा नयाँ धरहरा बनाइनेछ । नयाँ धरहरामा आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछ । प्राधिकरणका अनुसार नयाँ बन्ने धरहरामा लिफ्ट र भर्याङ राखिनेछ । गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बनाइने नयाँ धरहरा भत्किएको धरहराको पूर्वतर्फ निर्माण गरिनेछ ।
धरहरा पुनर्निर्माणको रोचक पक्ष के छ, भने नयाँ बन्ने धरहराको वनावट पहिलोपटक भीमसेन थापाले बनाएको ११ तले धरहराको जस्तै हुनेछ । भित्रबाट २२ तला भए पनि बाहिरबाट भने ११ तलाजस्तै देखिने बताइएको छ ।
प्राधिकरणको समन्वयमा निर्माण हुन लागेको धरहरा समयमै निर्माण होला भन्ने विषयमा भने शंका गर्न सकिने आधार थुप्रै छन् । धरहरा पुनर्निर्माणमा साढे ३ अर्ब रुपैयाँ लागत लाग्ने बताइएको छ । तर, पुनर्निर्माणका लागि प्रधानमन्त्रीले खडा गरेको कोषमा भने अहिलेसम्म २४ करोड रुपैयाँ मात्रै जम्मा भएको छ ।
यसबाहेक प्राधिकरण स्वयं आर्थिक अभावको सामना गरिरहेको छ । भूकम्पपछि भएको दाता सम्मेलनमा दातृनिकायले सहयोग गर्ने भनेको रकम अहिलेसम्म प्राप्त भएको छैन । त्यसका लागि प्राधिकरणले दातालाई ताकेता गरिरहेको छ ।
भूकम्पपछि भएको दातृसम्मेलनमा करिब ४ खर्ब १० अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता पाएको नेपालले हालसम्म करिब अढाई खर्ब रुपैयाँ मात्र प्राप्त गरेको छ । प्राधिकरणका अनुसार त्यसमध्ये दुई खर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च भइसकेको छ ।
यो आर्थिक वर्षको बजेटमा पुनर्निर्माणका लागि १ खर्ब ५० अर्ब रुपैयाँ छुट्याइएको भए पनि भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा करिब ६ खर्ब रुपैयाँ अझै अपुग भएको प्राधिकरणले बताएको छ ।
पाँच वर्षका लागि स्थापना गरिएको प्राधिकरणले तीन वर्ष पूरा गर्दा पनि भूकम्पले भत्किएका निजी आवास निर्माणको ३६ प्रतिशत काम मात्र सम्पन्न भएको छ । तीन वर्षमा प्राधिकरणले २७ प्रतिशत मात्रै पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न सकेको छ ।
प्राधिकरणमा तीन वर्षमा प्रमुख कार्यकारी अधिकृत पाँचपटक फेरिए । प्राधिकरणमा देखिएको राजनीतिकरण र विभिन्न सरकारी निकायसँगको समन्वयअभावका कारण प्राधिकरणले समयमै धरहरा पुनर्निर्माण सम्पन्न गर्ला भनेर विश्वस्त हुन सकिने स्थिति देखिँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।