ट्रेलरमाथि सामाजिक सञ्जालमा बहस
मनमोहन सिंहमाथिकाे अन्याय हाे ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ ?

नयाँदिल्ली– भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित फिल्म ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’को ट्रेलर रिलिज भएको छ । बिहीबार ट्रेलर निस्किएलगत्तै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ । 

यो संजय बारुको किताबमा आधारित फिल्म हो । फिल्ममा मनमोहन सिंहको भूमिका अनुपम खेरले निभाएका छन् भने संजय बारुको भूमिकामा अक्षय खन्ना छन् । फिल्म ११ जनवरीमा रिलिज हुँदै छ । 

फिल्मको ट्रेलरमा अनुपम खेरले गरेको मनमोहन सिंहको आवाजको नक्कल धेरैले रुचाएका छन् । अनुपमको भूमिकालाई लिएर धेरैले प्रशंसा गरिरहेका छन् । तर, फिल्म रिलिज हुने समयमाथि भने कतिपयले सवाल उठाएका छन् । 

भारतमा आउँदो साल (२०१९ मा) केन्द्रीय संसद्को चुनाव हुँदै छ । ट्रेलरमा केही यस्ता डायलग छन्, जुन आउँदो चुनावी अभियानमा चर्चाको विषय बन्न सक्छ । 

फिल्मले कथाको आधार बनाएको किताब ‘द एक्सिडेन्टल प्राइममिनिस्टर : द मेकिङ एन्ड अनमेकिङ अफ मनमोहन सिंह’का लेखक संजय बारु सन् २००४ देखि २००८ सम्म तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका मिडिया सल्लाहकार थिए ।

आफ्नो किताबमा संजयले दाबी गरेका छन् कि तत्कालीन प्रधानमन्त्री सिंहले उनलाई भनेका थिए, ‘कुनै सरकारमा सत्ताको दुई केन्द्र हुन सक्दैन । यसले गडबडी फैलाउँछ । मैले मान्नुपर्छ कि पार्टी अध्यक्ष सत्ताको केन्द्र हुन् । सरकार पार्टीप्रति जबाफदेही छ ।’



सन् २०१४ मा प्रधानमन्त्री सिंहको कार्यालयले संजयको यस किताबको आलोचना गरेको थियो । प्रधानमन्त्री कार्यालयले वक्तव्य जारी गरी यसलाई ‘आफ्नो पदको दुरुपयोग गरी आर्थिक फाइदा उठाउने कदम’को संज्ञा दिएको थियो । 

किताबमा संजयले २००४ को जुनमा सोनिया गान्धीले मनमोहनलाई सत्ता सुम्पिनु उनको अन्तरआत्माको आवाज नभई राजनीतिक चाल भएको समेत दाबी गरेका छन् । 



किताबमा उनले मनमोहन सिंह प्रधानमन्त्री भएर पनि शक्तिहीन बनेको र आफ्नै कार्यालयमा समेत आफ्नो रोजाइको अधिकारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् । सोनियाको राष्ट्रिय सल्लाहकार परिषद्ले ‘सुपर क्याबिनेट’ले जस्तै काम गर्ने गरेको उनको दाबी छ । 

फिल्मकोे ट्रेलरमाथि आम मानिसले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । कतिपयले यसले आउँदो वर्ष हुने चुनवलाई प्रभावित गर्ने चिन्ता व्यक्त गरेका छन् ।

फिल्मलाई लिएर ‘राजनीतिक ड्रामेबाजी’ चल्ने कसैको अनुमान छ । कसैले भने फिल्ममा कांग्रेसलाई ‘भिलेन’ बनाएर प्रस्तुत गरिएको भन्दै आलोचना गरेका छन् ।

कसैले फिल्ममा मनमोहन सिंहमाथि अन्याय गरिएको उल्लेख गरेका छन् । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘माफ गर्नुहोला, यस फिल्ममा डा‍‍. मनमोहन सिंहलाई जसरी देखाइएको छ, त्यो गलत हो ।’

कसैले यसलाई ‘अर्को चरणको फेक न्युज’ भनेर टिप्पणी गरेका छन् । केहीले भने फिल्मले राजनीतिक बहस निम्त्याए पनि मतदातामा कुनै असर नपार्ने आकलन गरेका छन् । 

  • प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार २०:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया