सत्ता गठबन्धनको बैठक बस्दै, जुट्ला सिट बाँडफाँडमा सहमति ?
फाइल तस्बिर

स्थानीय तहको निर्वाचन आउन एक महिना पनि बाँकी छैन । ३० वैशाखमा हुन लागेको निर्वाचनका लागि आयोगले दलहरूलाई ११ र १२ वैशाखमा मनोनयन गर्न भनेको छ । 

मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा दलहरूले सबै ठाउँमा उम्मेदवारको टुंगो भने लगाइसकेका छैनन् । विशेष गरी सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरिरहेको छ । 

उसले चासोका साथ हेरिएको महानगरपालिका र उपमहानगरपालिकामा समेत उम्मेदवार छान्न सकिरहेको छैन । सिटको भागबन्डामा सहमति जुट्न नसक्दा गठबन्धनलाई उम्मेदवार छान्न सकस भइरहेको हो ।   

गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसले तीन महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ । उसले काठमाडौं, ललितपुर, विराटनगर महानगरपालिका र धनगढी तथा फुटबल उप-महानगरपालिकामा दाबी गरेको हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप-महानगरपालिका पाउनुपर्ने दाबी गरिरहेको छ । अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित इटहरी, हेटौंडा र तुलसीपुर उप-महानगरपालिकामा दाबी गरेको छ । 

जसपाले वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने अडान कायकै राखेको छ ।  भागबन्डाको विषय टुंग्याउन गठबन्धन दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ । तर, उनीहरूबीच सहमति जुट्न सकेको छैन । 



आज बिहान ९ बजे पनि भागबन्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँडबारे निर्णय हुने सम्भावना छ ।  



  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ७:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया