सिट बाँडफाँट टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक पुनः सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक पुनः सुरु भएको छ । सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलनमा सहभागी भएर फर्किएलगत्तै बैठक पुनः सुरु भएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज महानगर र उपमहानगरपालिकाको भागबण्डा टुङ्गो लगाउन निर्णायक छलफल गरिरहेका छन् । बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । दलहरूका आ-आफ्ना अडानका कारण सहमति जुटाउन सकस भएको हो ।

आज बिहान बसेको बैठकमा दलहरूले भागबण्डाबारे आ-आफ्नै दाबी पेस गरेका थिए । बिहान ३ घण्टा बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो । पुनः बसेको बैठकले सहमति जुटाउने नेताहरूले बताएका छन् । 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा आज साँझसम्म महानगर र उपमहानगरको सिट भागबण्डा टुङ्गो लगाउने बताएका छन् । 

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १५:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया