कर्णालीमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग खुल्दै

सुर्खेतमा १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने भएको छ । जिल्लाको बराहताल गाउँपालिका–७ मा सूर्यतारा सिमेन्ट उद्योगको स्थापना गरिने भएको छ ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेना लगायतको समूहले सोमबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाटसमेत गरेको छ ।
सिमेन्ट उद्योग स्थापनाका लागि उद्योगले चौकुन गाउँपालिकामा ४२ विघा जमिन खरिदसमेत गरिसकेको छ । 

बराहताल गाउँपालिका–७ स्थित लखरपाटा क्षेत्रको ९५ हजार हेक्टर जमिनबाट उद्योगका लागि चुनढुंगा उत्खनन् गर्ने योजना छ । उद्योग स्थापनाका लागि हाल भइरहेका क्रियाकलाप तथा भावी योजनाबारे सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष तिमिल्सेनाले मुख्यमन्त्री शाहीसमक्ष प्रस्तुत गरेका थिए । 

अध्यक्ष तिमिल्सेनाले दिएको जानकारीअनुसार उद्योग स्थापनाका लागि जग्गा प्राप्ति भइसकेको र हाल पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको प्रक्रियामा रहेको छ ।

लगानी बोर्डले उद्योग सञ्चालनार्थ १४ अर्ब, २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृतसमेत गरिसकेको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ । दुई वर्षभित्र उद्योग सञ्चालन गरी उत्पादन थालिने अध्यक्ष तिमिल्सेनाले बताए ।

सूर्यतारा सिमेन्ट उद्योगका पदाधिकारी तथा मुख्यमन्त्री शाहीका बीच भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने जनाए ।



कच्चा पदार्थको खानी तथा उद्योगसम्म सडकका साथै पानी पुर्‍याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने मुख्यमन्त्री शाहीले जनाए । यसका साथै उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा सिमेन्ट उद्योगलाई करलगायतका क्षेत्रमा छुटको समेत व्यवस्था गरिने मुख्यमन्त्री शाहीको भनाइ छ । 

छलफल कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।



  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १८:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया