चहलको ह्याट्रिक र बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चौथो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा गत उपविजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ रनले हराउँदै राजस्थानले चौथो जित हात पारेको हो ।

यो जितसँगै ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकाताले भने लिगमा चौथो हार बेहोर्‍यो । उसले सात म्याच खेल्दा तीनमा खेलमा भने जित निकालेको छ । आफ्नो सातौँ खेलमा राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा सबै विकेट गुमाएर २१० रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यरले उत्कृष्ट पारी खेले । उनले ५१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए । त्यस्तै, आरोन फिन्चले २८ बलमा नौ चौका र दुई छक्कासहित ५८ रनको आक्रामक पारी खेले ।

उमेश यादव २१ र नितिश राणा १८ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि स्पिनर युजवेन्द्र चहलले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १७ औं ओभरमा श्रेयस अय्यर, शिवम मावी र प्याट कमिन्सलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि चहलले यही ओभरको पहिलो बलमा वैंकटेश अय्यरलाई आउट गरेका थिए ।  

उनले १२ औं ओभरको अन्तिम बलमा नितिश राणालाई आउट गर्दै आफ्नो खाता खोलेका थिए । चहलले ४ ओभरमा महत्वपूर्ण ५ विकेट लिएर ४० रन खर्चिए । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका उनी प्लेयर अफ द म्याच पनि घोषित भए । 

त्यस्तै, ओबेद म्याक्योले दुई, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१७ रन बनाएको थियो । 



उसका लागि जोस बटलरले शतकीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र ९ चौकासहित १०३ रन बनाए । जारी सिजनमा बटलरको यो दोस्रो शतक हो । कप्तान सञ्जु सामसनले ३८, शिमरोन हेटमायरले अविजित २६ ररनदेवदत्त पाडिक्कलले २४ रनको योगदान दिए ।

कोलकाताका सुनिल नारायणले दुई, शिवम मावी, प्याट कमिन्स र प्याट कमिन्सले एक/एक विकेट लिए ।  



  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ६:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया