कर्णाली प्रदेशमा कृषि गणना सुरु भएको छ । कर्णालीको प्रदेश कृषि गणना कार्यालयले मंगलबार देखि प्रदेशभरका ७९ वटै स्थानीय तहमा एकै साथ कृषि गणना सुरु गरेको हो ।
‘राष्ट्रिय कृषि गणना २०७८’ अन्तर्गत कर्णालीमा पनि गणना सुरु गरिएको प्रदेश कृषि गणना कार्यालय, सुर्खेतका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए । कृषि गणनाका लागि कर्णालीका प्रत्येक जिल्लामा सुपरीवेक्षक तथा गणक पनि खटाइ सकिएको छ । जिल्लामा कृषि गणना अधिकृतको मातहतमा रहनेगरी १६ जना सुपरीवेक्षक र ६४ जना गणक खटेका छन् ।
प्रदेशमा बसोवास गरिरहेका नागरिकले गरेको कृषि कार्य, वडागत सामुदायिक कृषि सम्वन्धि क्रियाकलापलगायत सरकारी, अर्धसरकारी, सहकारी, तथा कृषि व्यवसायीहरुले गरेका कृषि कार्य गणनामा समेटिने छन् ।
कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश, तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मुल्यांकन गर्न आवश्यक पर्ने तथ्यांकको खाँचो पुरा गर्नेगरी योजनाविद र नीति निर्मातालाई सघाउ पुर्याउन केन्द्रिय तथ्यांक विभागले देशैभर कृषि गणना थालेको पौडेलले जानकारी दिए ।
कृषकले चलनमा ल्याएको जग्गा, लगाएको बाली, पशुपक्षी पालन तथा कृषिमा वातावरणीय प्रभाव सम्वन्धी विवरण संकलन गर्ने विभागको योजना छ । कृषि सम्वन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यका सूचकहरुको लागि आवश्यक तथ्यांक उपलब्ध गराउने, कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने र समग्र कृषि तथ्यांकको स्तर बढाउने कृषि गणनाका उद्देश्यहरू हुन् ।
कृषि गणनाका लागि प्रदेशभरका जिल्लाहरुमा कृषि गणना कार्यालयहरूको समेत स्थापना भईसकेको छ । गणनाका लागि प्रशिक्षक, गणक तथा सुपरिवेक्षणको तालिम समेत गत चैत्रमा सकिएको हो । वैशाख ६ गतेदेखि सुरु भएको कृषि गणना जेठ १९ गतेसम्म चल्नेछ ।
कृषि गणनामा कृषि चलन वा कृषक परिवार भन्नाले एक परिवारको रेखदेखमा रहेको कृषि कार्यलाई बुझाउने पौडेलले बताए । पौडेलका अनुसार हिमाल र पहाडका जिल्लामा कम्तिमा चार आना र तराईका जिल्लामा कम्तिमा आठ धुर क्षेत्रफलमा बाली लगाएको भएमा सो परिवारलाई कृषक परिवारमा रुपमा लिन सकिन्छ ।
यसमा साथै जुनसुकै उमेर समुहका कम्तिमा एक वटा गाई–भैसी जस्ता ठुला चौपाया पालेको, कम्तीमा पाँच वडा भेडा–बाख्रालगायतका साना चौपाया पालेको, कम्तिमा २० वटा कुखुरा–हाँस पालेको परिवार कृषि गणनामा समेटिनेछ ।
कृषि गणनाले कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीहरुको उत्पादन र सिँचाइको विवरण समेट्ने पौडेलले जानकारी दिए । यसका साथै कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परिक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विविध विषयहरुमा वारेमा तथ्यांकले समेट्ने छ । कृषि सामाग्री र औजारको उपयोग, पशुपक्षीको संख्या र आहार सम्वन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्तिलगायतका कृषि कार्य गणनामा समेटिनेछन् ।
स्थानीय तहका वडा स्तरीय विवरणमा वडाको भू–उपयोगसम्बन्धी विवरण, सामाजिक र आर्थिक स्थिती, सामुदायिक संरचना र सेवा सुविधालगायत वडामा सञ्चालित विकास कार्यक्रमहरु गणनाले समेट्ने छ ।
‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार । कृषि योजना र विकासको मूल आधार, पारौ कृषि गणना २०७८ साकार’ नाराका साथ सुरु भएको कृषि गणनामा गणकलाई यर्थाथ सूचना दिई सघाउ पुर्याउन कणाीलीवासी समक्ष पौडेलको अनुरोध छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।