स्थानीय निर्वाचन : सिट बाँडफाँटमा सत्ता गठबन्धनभित्रै खटपट
फाइल तस्वीर

बझाङमा सत्ताधारी पाँच दलबीच सिट बाँडफाँटमा कुरा नमिलेपछि चुनावी गठबन्धनको सम्भावना कम हुँदै गएको छ । 

जिल्लाका १२ स्थानीय तहमध्ये नेपाली कांग्रेसले यसअघि जितेका चार पालिकासहित थप दुई पालिकामा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेपछि सत्ताधारी दलहरूबीच खटपट सुरु भएको हो । 

कांग्रेसले यसअघि सुर्मा, साईपाल, खप्तडछान्ना गाँउपालिका र बुङ्गल नगरपालिकामा जितेको थियो । यीबाहेक जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा कांग्रेसले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । 

बाँकी रहेका ६ पालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई नेतृत्व दिने कांग्रेसले प्रस्ताव ल्याएको हो । माओवादी केन्द्र र समाजवादीले छविस पाथीभेरा गाउँपालिका नछोड्ने बताएपछि गठबन्धनमा थप सकस देखिएको नेताहरूले बताएका छन् । 

छविस पाथिभेरा गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधि विजयी भएका थिए । तर हाल छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र केही वडाअध्यक्षहरू माधव नेपाल नेतृत्वको नेकपा एसमा खुलेका छन् । एमालेले जितेका पालिकामा दोस्रो स्थानमा मत ल्याउने पार्टीलाई नेतृत्व दिने केन्द्रको निर्णयअनुसार छविस पाथिभेरा गाउँपालिकामा माओवादीले दावी गरिरहेको छ । 

सत्ता साझेदार पाँच दलको बैठकले नेकपा एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका जनप्रतिनिधिलाई सोही पालिकामा उम्मेदवार बनाउने निर्णय गरेपछि बझाङमा छविसपाथीभेरा र केदारस्युँ गाँउपालिका एकीकृत समाजवादीको भागमा पर्ने पक्का भएको छ । 



तर, छविस पाथिभेरा गाउँपालिकाका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत नगरेका कारण छविस पाथिभेरा गाउँपालिका आफूले पाउनुपर्ने नेकपा माओवादी केन्द्रको दावी रहेको छ । 

माओवादी केन्द्र छविसपाथिभेरा गाउँपालिकाको अध्यक्षका लागि सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको माओवादी केन्द्र बझाङले जनाएको छ । 



सत्तारुढ दलबीच नै सिट बाँडफाँटमा कुरो नमिल्दा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय बझाङमा कार्यान्वयन नहुने देखिएको हो । गठबन्धन भंग भइसक्यो भनेर घोषणा नभएको तर गठबन्धन हुने सम्भावना न्यून रहेको बुढाले बताए । 

उनले भने ‘हामी सहमति तथा सहकार्यकै पक्षमा छौँ । तर, समन्वयका लागि अभिभावकीय भूमिका खेल्नु पर्ने नेपाली कांग्रेसले खासै चासोको साथ हेरेको छैन । त्यस कारण गठबन्धनको आशा त मरेको छैन, तर गठबन्धन कोमा गएको छ ।’

गठबन्धन नहुने सम्भावना बढेपछि नेकपा एसले पनि एकल उम्मेदवार छनोटको लागि गृहकार्य सुरु गरेको छ । सकेसम्म गठबन्धन गर्ने र नमिले एक्लाएक्लै निर्वाचनमा जाने गरी उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको पार्टीका जिल्ला उपसचिव गणेश बोहराले बताए । 

नेपाली कांग्रेसले पनि बझाङमा गठबन्धन हुने सम्भावना कम हुँदै गएको बताउँदै आएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एसका कारण बझाङमा गठबन्धनबारे अन्तिम टुंगो लाग्न नसकेको कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीले बताए ।

उम्मेदवार छान्दै माओवादी केन्द्र

गठबन्धन हुने नहुने निश्चित नभएपछि नेकपा माओवादी केन्द्रले जिल्लाका पालिकामा उम्मेदवारहरूको टुंगो लगाउन थालेको छ ।  माओवादी केन्द्रले बुङ्गल नगरपालिका र दुर्गाथली गाउँपालिकामा एकल उम्मेदवारी घोषणा गरिसकेको छ । 

बुङ्गल नगरपालिकाको प्रमुखमा हरिबहादुर कुँवर र उपप्रमुखमा छायाँ सिंहलाई उठाउने निर्णय गरेको माओवादी केन्द्रका बुङ्गल नगरपालिका इन्चार्ज अस्मित सिंहले जानकारी दिए । 

यस्तै दुर्गाथली गाउँपालिकाको अध्यक्षमा दिलबहादुर थापालाई उठाउने पक्का भएको नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिवसमेत रहेका संविधान सभा सदस्य जनकबहादुर बुढाले बताए । 

थापा यसअघिको निर्वाचनमा नेकपा एमाले सँग पराजित भएका थिए । उनी पूर्व लडाकु कमान्डर पनि हुन् । एक दुइ दिनमा नै गठबन्धन हुने वा नहुने भनेर टुंगो लाग्ने र केही दिनमा अन्य पालिकामा पनि उम्मेदवारको टुंगो लगाइ सक्ने माओवादी केन्द्रले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार २०:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया