आर्मीकी मिनु बक्सिङको क्वार्टरफाइनलमा

नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । 

महिला ५१ केजीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी मिनुले मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् । त्यसै स्पर्धामा एपिएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराइन् । सन्जु पनि क्वार्टरफाइनलमा पुगिन् ।

महिला ५७ केजीमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशीला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपिएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँदै क्वार्टरफाइनलमा पुगे ।

वसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपिएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाए । पुरुष ६३ केजीमा एपिएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगरले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । 

सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश १ का तोबिन प्रधानको चुनौती पन्छाए । पुरुष ६९ केजीमा एपिएफका विक्रम चौधरीले मधेसका सचिन शाक्य तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले ।



प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा १३औं सागका स्वर्णधारी मिनुसहित भूपेन्द्र थापा मगर र सनिल शाहीलाई नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत १–१ लाख नगद पुरस्कार प्रदान गरे ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिता सफलताका लागि शुभकामना दिँदै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न सरोकारवाला सबैलाई अपिल गरे ।



प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपिएफ गरी १० टिमका १ सय २ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । 

उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार २२:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया