झापा– झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ ।
बिहीबार राति छविलाल लिम्बूको घरबाट सुरु भएको आगलागीमा सुरुमै ग्यास सिलिन्डर विष्फोट हुँदा आगो चारैतिर अनियन्त्रित भएर फैलिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरमार्फत प्रतिपरिवार दुई थान त्रिपाल, दुई थान कम्बल, १७ मिटर कपडा, एउटा साडी र एक सेट भाडाकुँडा वितरण गरिएको उपशाखाकी अध्यक्ष कुसुम कोइरालाले जानकारी दिइन् ।
आगलागीस्थलमा पुगी बिहान प्रदेश सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, नेकपाका प्रदेश सदस्य विष्णु प्रसाईलगायतले पीडितसँग भेटघाट गरेका छन् । प्रजिअ दाहालले जिल्लाको विपद् कोषबाट नगरपालिकामार्फत प्रत्येक परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिइने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।