जाजरकोटको नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।
४ वैशाखमा जाजरकोट नलगाड–१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको खुलेको थियो । निजलाई खोजतलासको क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेको थियो । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भइरहेको छ ।
उनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, पुनसँग मोटरसाइकलको कुनै कागजपत्र थिएनन् ।
वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहोरिने इच्छा राखेका पुनलाई चोरी काण्डले धक्का लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।