काठमाडौंको मेयरमा एमालेबाट केशव स्थापित !

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेले प्रदेश सभा सदस्य केशव स्थापितलाई टिकट दिने तयारी गरेको छ । स्थापित यसअघि २०५४ सालमा नै काठमाडौंको मेयर भएका थिए । 

पछिल्ला दिन स्थापितले आफूले मेयरको टिकट पाउनु पर्ने दाबीसहित विभिन्न नेताहरुसँगको भेटघाट बढाएका छन् ।

२ वैशाखमा नगर कमिटीले मेयरका लागि सिफारिस गरेका पाँच जनामध्ये स्थापितको नाम पनि रहेको छ । नगर कमिटीले एमालेबाट मेयर विद्यासुन्दर शाक्य, सांसद रामवीर मानन्धर, स्थापित, निर्मल र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो । 

केही दिनअघिसम्म नेकपा एमालेले शाक्यलाई नै मेयर पदमा दोहोर्याउने तयारी गरेको थियो । 

तर, पछिल्लो समय शाक्यको आलोचना चुलिएको भन्दै उनलाई टिकट दिन नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले नै लबिइङ गरिरहेका थिए । 

२०५४ सालमा मेयर बनेर चर्चामा आएका स्थापितले काठमाडौंको रुपरेखा सुधारका लागि आफूसँग ‘मास्टरमाइन्ड योजना’ भएको बताउँदै केही दिनअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट गरेका थिए ।



पछिल्ला दिनमा एमाले नेतृत्व मेयर शाक्यसँग त्यति खुसी नभएको र नगर कमिटीबाट नै सिफारिस भएकाले एमालेले स्थापितलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सार्न लागेको हो ।
‘अहिले नै यसको टुंगो लागिसकेको छैन,’ नेकपा एमालेका एक सचिवले भने, ‘हामी यसमा छलफल गरिरहेका छौँ । तर, प्रदेश सभाबाट राजीनामा दिन लगाएर हामीले मेयर हुन चाहने र नगर कमिटीबाट समेत सिफारिसमा परेकाहरुलाई सहज रुपमा लिएका छौँ ।’

एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि प्रदेश सांसद विजय सुवेदीले राजीनामा बिहीबार दिएका थिए । 



‘अहिले नै स्थापितको विषयमा टुंगो लागिसकेको छैन,’ ती नेताले फरकधारलाई भने, ‘शनिबारसम्म यसबारे टुंगो लाग्ने छ । उहाँलाई टिकट दिने निर्णय भयो भने उहाँले पनि प्रदेश सांसदबाट राजीनामा दिनुहुन्छ ।’

पाँच दलको गठबन्धनबाट काठमाडौंमा मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंह मेयरको उम्मेदवार हुने निश्चित जस्तै भएको छ ।

गठबन्धनको भागवण्डामा कांग्रेसले काठमाडौं महानगर पाए पनि कसलाई उम्मेदवार बनाउने भन्ने अहिलेसम्म टुंगो लगाइसकेको छैन । तर, कांग्रेसबाट सिफारिस भएकामध्ये प्रकाशमान सिंह पत्नी सिर्जनाको प्रवल सम्भावना भएको अनुमान गर्न थालिएको छ । उनको नाममा गठबन्धनका अन्य दलले पनि ग्रिन सिग्नल दिएका छन् ।

कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दिन पाएमा एमालेबाट स्थापित नै उम्मेदवार हुने सम्भावना अझ बढी हुने एमालेका ती नेताले बताए । 

‘काठमाडौंका मतदातालाई प्रभावित पार्न पनि सिंहले टिकट पाएको खण्डमा शाक्यलाई हाम्रो पार्टीले अगाडि सार्ने सम्भावना बढी हुनेछ,’ एमालेका ती नेताले भने ।

  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २०:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया