जनप्रतिनिधिले राजीनामा दिए वडासचिवलाई कार्यबाहक अध्यक्षको अधिकार दिने निर्णय

काठमाडौं महानगरको ७५ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले वडाध्यक्ष तथा वडा सदस्यको राजीनामा दिएको अवस्थामा कामकाज गर्ने, स्थानीय तह स्वमूल्यांकनलगायत विषयमा निर्णय गरेको छ । 
 
नेपालको संविधानको धारा ११५ को उपदफा ८ मा जनप्रतिनिधि पदमा रहन नसक्ने अवस्थाका बारेमा व्यवस्था छ । यसरी पदमा रहन नसक्ने अवस्थामा प्रमुखले उपप्रमुखसमक्ष तथा उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरूले प्रमुखसमक्ष राजीनामा दिनुपर्दछ । 

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाअध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यबाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको छ । 
 
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यबाहक भइ काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यबाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यबाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ । 

यही व्यवस्थाबमोजिम आजको बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यबाहक दिने निर्णय गरेको छ । यदी वडाका सबै जनप्रतिनिधिबाट राजीनामा पेश भए वडा सचिवलाई कार्यबाहक अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिने निर्णय भएको छ ।  

बैठकमा योजना अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यले स्थानीय तह संस्थागत स्वमूल्यांकनको नतिजा पेश गरेका थिए । स्वमूल्यांकनसम्बन्धी कार्यविधिमा भएका सूचकका आधारमा गरिएको आन्तरिक मूल्यांकनबाट ६०.७५ अङ्क प्राप्त भएको छ । यो नतिजालाई बैठकले अनुमोदन गरेको छ । 

नन्दीरात्रि माध्यमिक विद्यालय, नक्सालमा राजेश हुमागाईं र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्ति बैठकले अनुमोदन गरेको छ । विद्यालय निरीक्षक, विज्ञ र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको ३ सदस्यीय सिफारिस समितिबाट सिफारिस भई आएको उम्मेदवारलाई शिक्षा विभागले कार्यपालिकामा पेश गरेको थियो ।    

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरू सहभागी थिए ।
 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २१:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया