माओवादीले टुंग्यायो महानगर र उपमहानगरको मेयर उम्मेदवार

नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ । भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रूपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री स्वतः मेयरका दाबेदार हुन् । 





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १३:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया