धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालले धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउने दाबी गरेका छन् ।
‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने चुनावी नारा लिएर आफू निर्वाचनमा होमिएको उनले बताए । भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा, लोककल्याणकरी, स्वच्छ, सुन्दर र समृद्ध नमुना शहर बनाउने योजना रहेको उनले बताए । मतदाताहरू शिक्षित भइसकेका कारण गठबन्धनले आफूलाई असर नगर्ने बताउँदै उनले बाँडीचुँडी खाने गठबन्धनलाई जनताले नपत्याउने दाबी गरे ।
हमालले शुक्रबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै उनले उपमहानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिने उल्लेख गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, ज्येष्ठ नागरिक तथा मातृ शिशुको स्वास्थ्यलाई महत्वका साथ प्रत्येक वडाहरूमा घुम्ती विशेषज्ञ मेवा प्रदान गर्ने व्यवस्था मिलाइने र उप–महानगरका सबै वडाहरूमा शुद्ध, सफा र स्वच्छ खानेपानीको व्यवस्थाका गरिने दाबी गरेका छन् ।
उप–महानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने उनको दाबी छ ।
सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पु¥याउने व्यवस्था गरी बैंकमा लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य गर्ने, एयरपोर्ट तथा अन्य विकास निर्माणका कार्यहरू गर्दा सरकारबाट अधिग्रहण गरिने जग्गाको मूल्यांकन गर्दा बजार मूल्यभन्दा कम नहुने गरी गर्ने व्यवस्थाका लागि प्रयास गर्ने घोषणापत्रमा उल्लेख छ ।
उप–महानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई ‘धनगढी तारा’ पदकद्वारा सम्मान गरिने व्यवस्था लागू गरिने उनको घोषणापत्रमा उल्लेख छ ।
उप–महानगरमा एक वडा एक उत्पादन कार्यक्रमलाई लागू गरेर कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गरिने समयमै मल, बीउ आपूर्ति सुनिश्चिता गर्ने प्रयास गरिने घोषणापत्रमा उल्लेख छ ।
धनगढी सहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक विधि अपनाइने, वृक्षारोपणलाई विशेष महत्व दिई धनगढी उप महानगरलाई हराभरा, सुन्दर नगर बनाउने आफ्नो पहिलो प्राथामिकता रहने हमालको भनाइ छ ।
आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता, गाडी, इन्धन, यातायात, होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने उनले पत्रकार सम्मेलनमा घोषणा गरे ।
‘मेरो उम्मेदवारी धनगढी बनाउनका लागि हो, राजनीति गर्नलाई होइन ।’ उनले भने ‘हामीले राजनीतिलाई सेवा बनाएनौँ, पेसा बनायौँ । मलाई जे दिएको हो, यही धनगढीले दिएकोले अब मैले पाँच वर्ष यो धनगढीलाई निःस्वार्थ सेवा दिन्छु’ उनले भने ।
२०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका उनी २७९७ सय मतान्तरले कांग्रेसका नृप वडसँग पराजित भएका थिए । विजयी वडले १४ हजार ३२४ मत प्राप्त गर्दा हमालले ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।