आइपिएल : लगातार आठौँ हार बेहोर्दै प्लेअफ दौडबाट बाहिरियो मुम्बई

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले लगातार आठौँ हार बेहोरेको छ । आठौँ हार बेहोर्ने क्रममा गएराति भएको खेलमा ऊ लखनउ सुपर जायन्ट्सविरुद्ध ३६ रनले पराजित भयो । 

पाँच पटकको आइपिएल च्याम्पियन मुम्बई पहिलोपटक लगातार आठपटक पराजित भएको हो । आठौँ खेलमा लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान रोहित शर्माले ३९, तिलक वर्माले ३८ र किरण पोलार्डले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका कृणाल पाण्ड्याले तीन, रवि विश्नोई, आयुष बदोनी, जेसन होल्डर र मोहसिन खानले एक/एक विकेट लिए । 

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । उनले ६२ बलमा १२ चौका र चार छक्कासहित अविजित १०३ रन बनाए । 

आइपिएल इतिहासमा राहुलको यो चौथो र जारी सिजनमा दोस्रो शतक हो । उनले केही दिनअघि पनि मुम्बईविरुद्ध शतकीय पारी खेलेका थिए । त्यस्तै, मनिष पाण्डेले २२, आयुष बदोनीले १४, क्विन्टन डिकक र दीपक हूडाले १०/१० रनको योगदान दिए । मुम्बईका लागि किरण पोलार्ड, रिलि मेरिडिथले दुई/दुई, जसप्रित बुमराह र डानियल साम्सले एक/एक विकेट लिए ।

यो जितसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले आठ म्याच खेल्दा पाँचमा जित र तीन खेलमा हार बेहोरेको छ । पुछारमा रहेको मुम्बई भने अंकविहीन छ । लखनउसँगको हारसँगै प्लेअफ पुग्ने मुम्बईको सम्भावना लगभग समाप्त भएको छ ।     
 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार ६:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया