स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेदवारले मनोनयन दर्ता गराउँदै छन् । मकवानपुरमा पनि ठूला राजनीतिक दलहरूले आज मनोनयन दर्ता गराउने तयारी भइरहेको छ ।
पहिलो दिन यहाँ पनि ठूलो दलहरूले मनोनयन गरेनन् । मनोनयन गर्ने अन्तिम दिन आज पनि सत्तारुढ गठबन्धनका दलहरूबीच विवाद कायमै छ । मकवानपुर सदरमुकाम तथा बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट मीना लामालाई उम्मेदवार बनाइएको छ ।
उनले यही ३० वैशाखमा हन लागेको स्थानीय चुनावमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलसँग प्रतिस्पर्धा गर्ने छिन् । अघिल्लो निर्वाचनमा लामा एमालेबाट उपप्रमुखमा विजयी भएकी थिइन् ।
यसपालि हेटौंडामा एमाले गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछ । साथै, माधवकुमार नेपाल पक्ष पनि पार्टीबाट अलग भएकाले चुनावमा एमालेलाई जित निकाल्न कठिन हुने आँकलन भइरहेको छ । तर, एमालेबाट हेटौंडाको मेयरका उम्मेदवार बनेका पौडेल चुनावमा गठबन्धनको कुनै डर नभएको बताउँछन् ।
एमालेले विगतमा गरेका कामहरू नै अहिले मतदातासँग मत माग्ने मुख्य आधार रहेको उल्लेख गर्दै उनले गठबन्धनले स्थानीय तहमा अस्थिरता निम्त्याउने आरोप लगाए ।
‘गठबन्धनको मारमा पर्यो माओवादी’
माओवादी केन्द्र हेटौंडा नगर अध्यक्ष तीर्थ थापा आसन्न निर्वाचनमा आफ्नो पार्टी गठबन्धनको मारमा परेको बताउँछन् । ०७४ को निर्वाचनमा हेटौंडाको मेयर कांग्रेसलाई छोडेर माओवादीले उपमेयर पाएको स्मरण गर्दै उनी गठबन्धनको निर्णयमा खुसी छैनन् ।
‘जनमतको आधारमै जाने हो भने पनि कांग्रेसले अघिल्लो वर्ष पाइसकेपछि आसन्न निर्वाचनमा हेटौंडाको मेयरको टिकट हामीले पाउनुपर्थ्यो । समाजवादी त अहिले टेस्टको रूपमा निर्वाचनमा जाँदैछ,’ थापाले भने, ‘एमालेबाट टुक्रिएको पार्टीलाई हेटौंडा उपमहानगरपालिका जस्तो ठाउँमा मेयर दिने बिषयमा केन्द्रीय कमिटीले पनि सोच्न जरुरी थियो । गठबन्धनको निर्णयअनुसार नै माओवादी पनि अघि बढ्ने भएकोले साथ त दिइन्छ । तर मन भने नरमाइलो लागेर मन धमिलो भएको छ ।’
अन्य स्थानीय तहमा गठबन्धनमा माओवादीलाई प्राथमिकतामा राखेको भए पनि हेटौंडामा भने उपेक्षा गरिएको अनुभूति भइरहेको उनले बताए । उनी यसपालि हेटौंडाको मेयरका आकांक्षी थिए । तर, थापाले टिकट भने पाउन सकेनन् । यद्यपि गठबन्धनको निर्णयलाई साथ दिएर अघि बढ्न आफूहरू तयार रहेको उनले बताए ।
०७४ को मत परिणामलाई फर्केर हेर्दा
अघिल्लो स्थानीय निर्वाचनको मत परिणाम हेर्ने हो भने हेटौंडा उपमहानरमा एमाले बलियो देखिन्छ । सो निर्वाचनमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । त्यसका बाबजुद पनि एमालेले जित निकाल्यो ।
उपमहानगर प्रमुखमा एमालेका हरिबहादुर महत र उपप्रमुखमा मीना लामा विजयी भएका थिए । महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए ।
उपप्रमुखमा एमालेबाट चुनाव लडेकी मीना लामा माओवादी केन्द्रका बलराम बललाई हराउँदै विजयी भएकी थिइन् । उनले २३ हजार ४३७ र बलले १७ हजार ११ मत पाएका थिए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाएर तेस्रो बनेकी थिइन् । हेटौंडामा नयाँ शक्ति पार्टीका उम्मेदवारले १ हजार १५३ मत ल्याउँदा अन्य उम्मेदवारले भने ५ सय मत कटाउन सकेका थिएनन् ।
अघिल्लो निर्वाचनमा उपमहानगरका १९ वडामध्ये एमालेले १२ वटा वडामा जित हात पारेको थियो । कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई वटा वडामा जितेको थियो ।
एमालेले हेटौंडाको वडा नम्बर २, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८, १९ मा जितेको थियो । कांग्रेसले १, ५, ६, १५ र १६ वडामा जित निकाल्यो । वडा नम्बर १२ र १४ मा माओवादीका उम्मेदवार विजयी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।