काशी नेपालीका लागि माेक्षभूमि – प्रचण्ड

काठमाडौ‌ं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका काशी, गया लगायतका स्थल पहिलेदेखि नै नेपालीका लागि मोक्ष तथा ज्ञानभूमि रहिआएको बताएका छन् । 

काशी हिन्दू विश्वविद्यालयका संस्थापक पं मदनमोहन मालवीयको १५७औँ जन्मजयन्तीका अवसरमा आइतबार महामाना मालवीया मिसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मालवीयलाई भारतीय संस्कृतिका मर्मज्ञ तथा पूर्वीय दर्शनका ज्ञाता भन्दै उनले भारतको स्वतन्त्रता आन्दोलनलाई निष्कर्षमा पुर्याउन योगदान गरेको बताए । 

‘म युवा छँदा नेपालीले गरेको राजनीतिक सम्मेलनमा काशीमा सहभागी भएको छु,’ नेपाल र भारतको सम्बन्ध बलियो बनाउन दुई मुलुकका संस्कृति महत्वपूर्ण रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गया, काशीलगायत स्थानलाई पहिलेदेखि नै नेपालीले मोक्ष, शिक्षा र राजनीतिका लागि पवित्र स्थलका रुपमा लिने गरेका छन् ।’ 

सो अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय र पूर्वरथी नारायणचन्द्र मल्ललाई सम्मान गरिएको थियो । सोही विश्वविद्यालयमा शिक्षा लिएर उनीहरुले मुलुकको विकासमा योगदान गरेबापत सम्मान गरिएको आयोजकले बताएको छ । 

नेपालका लागि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा. अजयकुमारले पत्रकारिता, समाजसेवा, शिक्षा, राजनीतिलगायत क्षेत्रमा मालवीयको योगदान रहेको स्मरण गरे । 

आयोजक संस्थाका अध्यक्ष जिएन सरस्वती, नेपाल–भारत पुस्तकालयका प्रमुख डा. महेशचन्द्र शर्मा, साहित्यकार जीवनचन्द्र कोइराला लगायतले मालवीयको सरलपन, सादा जीवन तथा उच्च विचारको नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिँदै पाँचखालमा नयाँ काशी विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ संस्था अगाडि बढेको जानकारी दिए । 



कार्यक्रममा मालवीय सन्देश वार्षिक मुखपत्र विमोचन गरियो । 



  • प्रकाशित मिति : पुस १५, २०७५ आइतबार १९:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया