गठबन्धन सफल भएको छ : कृष्णबहादुर महरा

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए । उनले आज बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्ममा कुरा मिल्ने बताए । 

प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमति हुने उल्लेख गरे । 

उनले भने – ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको छ । बाँकी केही काममा अलिकति मिलेका छैनन् । पार्टी भित्रपनि मिलेको छैन, पार्टी पार्टीको बीचमा पनि मिलेको छैन । केही प्रक्रिया अझ पनि जारी छ । यो मिल्ने क्रम बेलुकीसम्म अगाडि बढ्छ । आज मात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ । मिल्ने क्रम जारी रहन्छ । जुन उद्देश्यमा आधारित भएर गठबन्धन बनेको थियो, प्रतिगमनको विरुद्धमा अग्रगमनको पक्षमा, संविधानलाई जोगाउनको निमित्त यो गठबन्धन सुरु भएको छ । यो सफल भएको छ । मैले यहाँहरुलाई सफलताको सन्देश दिन चाहान्छु । अब अझ अगाडि बढ्दै जान्छ ।’

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए । उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए । 

‘हामीले अपिल जारी गरेका छौँ र के भनेका छौँ भने केन्द्रीय स्तरबाट भन्दा स्थानीयस्तरबाटै घोषणा पत्र आफ्नो विशेषतामा निकाल्ने भनेका छौँ । विशेषतामा आधारित भएर आ–आफ्नो स्थानीय निकायले घोषणा पत्र निकाल्ने छन् । हामीले स्थानीय निकायलाई अलि शक्तिशाली बनाउने भनेकै हो । त्यो प्रक्रिया सुरु भएकै छ । हामी सकेसम्म केन्द्रीकृत शक्तिलाई विकेन्द्रीत गर्ने त्यसकारण हामीले त्यो अधिकार तल दिन चाहान्छौँ’ उनले भने ।



उनले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए । गठबन्धनका दलहरुका बीचमा सहमति नभए पनि गठबन्धनका दलहरुले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णय अनुसार अघि बढ्ने उनले बताए ।



  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १६:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया