जनकपुरधाम : मेयरमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि नगरप्रमुख पदमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ ।

राजनीतिक दलको तर्फबाट मेयरमा सात जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने चार जना स्वतन्त्र उम्मेदवार छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रीता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरि आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन् ।

करिव ५ दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपमेयरमा युवा नेता सरोजकुमार मिश्रले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्ड्ये उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोषकुमार साहले मनोनयन दर्ता गराएका छन् ।



तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी हुन् । 



त्यस्तै, मेयर पदमै स्वतन्त्रतर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधीरकुमार महतोको उम्मेदवारी परेको हो ।

यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन् ।

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् ।

  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १८:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया