स्थानीय तह निर्वाचन : बझाङमा क-कसले गराए मनोनयन दर्ता ?

विभिन्न दलले छनोट गरेका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले आज बझाङका पालिकाको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि उनीहरूले आज मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख विष्णुकुमार अवस्थीले बताए । जिल्लाभरको तथ्यांक पूरै आइनसकेको अवस्थीले बताए । अझै पनि मनोनयनको काम चलिरहेको उनले बताए ।

जिल्लाको जयपृथ्वी नगरपालिकामा आज गठबन्धनमा रहेको दल नेपाली कांग्रेसबाट मयेरमा चेतराज वजाल र उपमेयरमा नेकपा माओवादी केन्द्रका रनबाहादुर सिंहले उम्मेदवारी दिएका छन् । त्यस्तै, नेकपा एमालेबाट मेयरमा सुरतबहादुर सिंह र उपमेयरमा जमुना चन्द सिंह र राप्रपाबाट कर्णबहादुर खड्काले नगरप्रमुखका लागि मनोनयन दर्ता गराएका छन् । 

त्यसैगरी गठबन्धन र एमालेबाट नगरपालिकाका ११ वटै वडामा उम्मेदवारी दर्ता भएको छ भने राप्रपाले वडा नम्बर ६ र ११ मा वडाध्यक्षको मनोनयन दर्ता गराएको छ ।  

बुंगल नगरपालिकाको मेयरमा एमालेबाट धनदेवी कुवँर र उपमेयरमा अम्माज जोशीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका जयबहादुर धामी मेयरमा र एकीकृत समाजवादीका जयबहादुर धामीले उपमेयरमा मनोनयन दर्ता गराएका छन् । त्यसैगरी राप्रपाबाट हर्कबहादुर सिंहले मेयरमा मनोनयन दर्ता गराएका हुन् ।  

साइपाल गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उज्जल बोहरा, नेकपा एमालेका मानबहादुर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङले मनोनयन दर्ता गरेका छन् ।



त्यसैगरी तल्कोटा गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट ललित उपाध्याय, नेकपा एमालेबाट कलकबहादुर रोकाया र गठबन्धनका तर्फबाट एकीकृत समावादीका नारायण धामीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेकी पार्वती भण्डारीले मनोनयन दर्ता भएको छ ।

मष्टा गाउँपालिकामा पनि दुई दलले पालिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षमा एमालेबाट दीपक रोकाया र उपाध्यक्षमा सर्मीला भण्डारीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनवाट नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले अध्यक्ष र नेकपा माओवादी केन्द्रका हर्क धामीले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।



खप्तडछान्ना गाउँपालिकामा एमालेबाट गाउँपालिका अध्यक्षमा लोकेन्द्रबहादुर सिंह र उपाध्यक्षमा देवकी जोशी, नेपाली कांग्रेसबाट उत्तम रोकाया र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु थापाले र स्वतन्त्रबाट जनक थापाले मनोयन दर्ता गराएको खप्तडछान्ना गाउँपालिका निर्वाचन अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

केदारस्यूँ गाउँपलिकाको अध्यक्षमा नेकपा एमालेबाट लोकेश भण्डारीले, नारा गुर्धामीले उपाध्यक्ष र अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट गणेश बोहराले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत विनोदकुमार खनालले जानकारी दिए ।

दुर्गाथली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट दलबहादुर धामी, जनता समाजवादीबाट बलबहादुर थापा, नेकपा माओवादी केन्द्रबाट दिलबहादुर थापा र स्वतन्त्रबाट सत्यराज रावलले मनोनयन दर्ता गराएका छन् । गाउँपलिका उपाध्यक्षमा नेकपा एमालेबाट शारदा कुमारी बिक, नेपाली कांग्रेसबाट जनक दौल्याल र स्वतन्त्रबाट रूपकबहादुर रोकायाको मनोनयन दर्ता भएको छ । 

छविस पाथिभेरा गाउँपलिकामा माओवादी केन्द्रबाट अध्यक्षमा वसन्त चलाउने, एमालेबाट रामप्रसाद भट्ट, स्वतन्त्रबाट धनबहादुर रावल र जनता समाजवादी पार्टीबाट वीरेन्द्रबहादुर सिंहले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी, उपाध्यक्षमा एमालेकी देवकी बुढा, एकीकृत समाजवादीका लक्ष्मण बोहरा, स्वतन्त्रबाट सन्तोषबहादुर सिंह र जयराज पण्डितले मनोनयन दर्ता गराएका हुन् ।

थलारा गाउँपालिकामा अध्यक्षमा एमालेका प्रवाशबहादुर रोकाया, एकीकृत समाजवादीका विनोद थापा, स्वतन्त्रबाट कुलराज जोशी र विष्णुप्रकाश जोशीको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्षमा एमालेबाट मिरादेवी रावल, नेपाली कांग्रेसबाट रामबहादुर खाती र स्वतन्त्रबाट धर्मदेव भट्टले मनोनयन दर्ता गराएका छन् । 

योबाहेकका अन्य पालिका सुर्मा, वित्थडचिर गाउँपालिकाको विवरण अझै आउन नसकेको मुख्य निर्वाचन अधिकृत अवस्थीले बताए ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि बझाङमा नेकपा एमालेबाहेकका अन्य सबै दलले चुनावी तालमेल गरेका छन् । पालिका अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरी चुनावमा होमिएका हुन् । 

तर, तीन दलीय गठबन्धन भएको भए पनि जिल्लाका अधिकांश पालिका र वडा तहमा नेपाली कांग्रेसका कार्यकर्ताले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू आफ्नो जित निश्चित भएको भए पनि पार्टीले गठबन्धन गरेको भन्दै नेतृत्वप्रति असनतुष्ट रहेका छन् ।

  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १९:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया