कर्णालीमा गठबन्धनको निर्णयविपरीत दलहरूको उम्मेदवारी
फाइल तस्वीर

कर्णालीमा पाँच दलीय गठबन्धनले प्रदेशका आठ जिल्लामा गठबन्धन गरेर जाने निर्णय गर्‍यो । प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा, सल्यान, जाजरकोट र दैलेखमा गठबन्धन गरेर जाने विषयमा सोमबार मात्र गठबन्धनले निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेन ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले कर्णालीमा गठबन्धनका साथ निर्वाचनमा जाने निर्णय गरेका थिए । कर्णालीका जिल्लामा गठबन्धनको निर्णयविपरीत स्थानीय निर्वाचनमा पार्टीपिच्छे उम्मेदवारी दर्ता भएका छन् । 

जिल्लाको नरहरिनाथ गाउँपालिकामा गठबन्धनले समाजवादीका उम्मेदवारलाई अध्यक्ष पद र माओवादी केन्द्रलाई उपाध्यक्ष पद दिने निर्णय गरेको थियो । तर, अन्य स्थानमा झैँ यस क्षेत्रमा पनि सबै पार्टीले आ–आफ्नै उम्मेदवार अघि सारेका छन् ।

प्रदेश तहबाट गठबन्धन गर्ने निर्णय गरिए तापनि यहाँ जिल्ला तहले भने कांग्रेस एक्लै चुनाव लड्ने निर्णय गरेको छ । नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा नगेन्द्र विष्ट र उपाध्यक्षमा सीता रावलको उम्मेदवारी छ ।

यसैगरी माओवादीबाट विष्णु नेपाली अध्यक्ष र मनसोधाकुमारी बुढा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । समाजवादीले धीरबहादुर विष्टलाई अध्यक्ष दुर्गा विष्टलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ । उनीहरू सबैले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो उम्मेदवारी दिइसकेका छन् ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध जाने कुनै पनि उम्मेदवारलाई आ–आफ्नो पार्टीले अनुशासनको कारबाही गर्नेसमेत निर्णय गरेको छ ।



यसका साथै वडा बाँडफाँटका सन्दर्भमा आ–आफ्नो जितेको वडा कायम गर्दै बाँकी रहेका वडामा मतभारका आधारमा न्यायोचित रूपमा भागबण्डा गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, माओवादी केन्द्रकी अध्यक्ष विमला केसी, एकीकृत समाजवादीका अध्यक्ष अम्मर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्णबहादुर शाही र जनता समाजवादी पार्टीका अध्यक्ष देवीकृष्ण न्यौपाने सहभागी थिए ।



  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार २०:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया