एमालेका काठमाडौं मेयर स्थापितले चिर्नु पर्ने दुई प्रश्न

नेकपा एमालेले धेरैको अड्कलबाजी र अनुमानविपरित काठमाडौंको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाएको छ । तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई नै एमालेले फेरि काठमाडौंमा दोहोर्याउन सक्ने अनुमान धेरै गरेका थिए । शाक्य नदोहोरिएको अवस्थामा अरु कुनै ‘पपुलर फेस’लाई नेकपा एमालेले काठमाडौं मेयरमा उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो । 

तर, सिफारिसमा नै परेका अरुलाई पनि पछाडि पार्दै केशव स्थापितले काठमाडौं मेयरको टिकट पाएका छन् । काठमाडौं मेयरको टिकट पक्का भएपछि उनले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा समेत दिए । 

उनले सोमबार दिउँसो आफ्नो उम्मेदवारी मनोनयन त गरेका छन् सँगसँगै उनी विवादमा पनि जोडिएका छन् । २०५४ सालमा नेकपा एमालेबाट नै काठमाडौंको मेयर बनेका स्थापित २५ वर्षपछि फेरि त्यही पदमा आउन खोजेका छन् । तर, उनको यो मेयरमा कमब्याक सहज देखिँदैन । 

यसको एउटै कारण छ, उनीमाथि लागेको आरोप । यौन दुर्व्यवहारसम्बन्धी उनीमाथि जुन आरोप लागेको छ र त्यसबारे उनले जस्तो प्रतिक्रिया दिँदै आएका छन्, यही विषय नै उनलाई यसपटक मेयरमा पराजित गर्ने आधार बन्ने सम्भावना बढेको छ ।

यसअघि विश्वभर मिटू अभियान चर्किएको समयमा काठमाडौं महानगरपालिकाकै पूर्व कर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले स्थापितले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका थिए । 

चार वर्षअघि उनीहरुले यो आरोप लगाउँदा पनि स्थापितले त्यसलाई निकै हलुका टिप्पणी गरेका थिए ।
उनलाई एमालेले टिकट दिने भएपछि यो विषयमा फेरि बहस सतहमा आएको छ । उम्मेदवारी दिन निर्वाचन आयोगको कार्यालय पुग्दा पनि स्थापितले यही विषयमा प्रश्न सामना गर्नु पर्यो । तर, उनले त्यसमा पनि अत्यन्त हलुका टिप्पणी गरे । उनले भनेका थिए, ‘मजत्तिको व्यक्तिउपर इस्यु भएन भने केशव स्थापित नै भएन्, विवादमा नआउने पनि केशव स्थापित हुन्छ र आइरहनु पर्यो नि ।’



त्यसो त यही विषयमा मात्र होइन, उनको छुद्र बोल्ने शैलीका कारण उनले पनि बेलाबेलामा अवसर गुमाउनु पनि परेको छ । पछिल्लो पटक उनीले प्रदेश मन्त्रीको हैसियतबाट २०७६ कार्तिकमा बाहिरिनु परेको थियो । यसको कारण थियो, उनको तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद हुनु । उनी त्यति बेला भौतिक पूर्वाधार मन्त्री थिए । 



शाहीकालमा राजाका प्रिय बन्न खोज्दाखोज्दै पनि नसकेका स्थापितले गणतन्त्रमा काठमाडौंको मेयरको जिम्मेवारी पूरा गर्लान् त ? यौन दुव्र्यवहारको अहिलेसम्म नसुल्झिएको प्रश्न सँगसँगै स्थापितले यो प्रश्नको पनि सामना गर्नु पर्ने अब देखिन्छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ५:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया