आइपिएल : ओरेन्ज क्याप दौडमा बटलर शीर्षमा, पछ्याउँदैछन् यी खेलाडी

अहिले विश्वकै चर्चित फ्रेन्चाइज टी-२० लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं संस्करण चलिरहेको छ । लिगको आधा खेल सकिँदा आशा गरिएका केही खेलाडी चल्न सकेका छैनन् । केही खेलाडीले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरलाई ओरेन्ज क्याप र बढी विकेट लिने बलरलाई पर्पल क्याप दिने प्रचलन छ ।

यसपालि पनि ओरेन्ज र पर्पल क्यापको दौडमा केही खेलाडीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । विशेष गरी आज जारी आइपिएलको ३८ खेल सकिँदा ओरेन्ज क्याप दौडमा रहेका शीर्ष पाँच ब्याटरको चर्चा गर्दैछौं ।  

जोस बटलर (राजस्थान रोयल्स)

राजस्थान रोयल्सका ओपनर जोस बटलर जारी आइपिएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी हुन् । उनले हालसम्म सात खेलमा तीन शतक र दुई अर्धशतकको मद्दतमा ४९१ रन बनाए छन् । 

८१.८३ औसत र १६१.५१ को स्ट्राइक रेटमा रन बनाइरहेका बटलरले हालसम्म ३०४ बलको सामना गर्दै ४१ चौका र ३२ छक्का प्रहार गरेका छन् । ११६ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । बटलर हालसम्म सर्वाधिक चौका र छक्का प्रहार गर्ने खेलाडी हुन् । 

केएल राहुल (लखनउ सुपर जायन्ट्स)



आइपिएलको नयाँ टोली लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । राहुलले आठ खेलमा दुई शतक र एक अर्धशतसहित ३६८ रन बनाएका छन् । उनको औसत ६१.३३ तथा स्ट्राइक रेट १४७.८९ छ ।

हालसम्म २४९ बलको सामना गरेका राहुलले ३३ चौका र १५ छक्का प्रहार गरेका छन् । अविजित १०३ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । 



शिखर धवन (पञ्जाब किंग्स)

जारी आइपिएलमा पञ्जाब किंग्सले मध्यम प्रदर्शन गरिरहेको भए पनि उसका ओपनर शिखर धवन भने उत्कृष्ट लयमा छन् । ओरेन्ज क्यापको दौडमा तेस्रो स्थानमा रहेका धवनले आठ खेलमा दुई अर्धशतकसहित ३०२ रन बनाएका छन् । 

४३.१४ को औसत तथा १३२.४५ को स्ट्राइक रेटमा रन बनाइरहेका धवनले हालसम्म २२८ बलको सामना गर्दै ३० चौका तथा आठ छक्का प्रहार गरेका छन् । अविजित ८८ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । 
 
हार्दिक पाण्ड्या (गुजरात टाइटन्स)

आइपिएलको नव आगन्तुक क्लब गुजरात टाइटन्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोलीको यो प्रदर्शनमा कप्तान हार्दिक पाण्ड्याको महत्वपूर्ण भूमिका छ । उनले ६ खेलमा तीन अर्धशतकसहित २९५ रन जोडेका छन् । पाण्ड्याको औसत ७३.७५ र स्ट्राइक रेट १३६.५७ छ । 

ओरेन्ज क्यापको दौडमा चौथो स्थानमा रहेका पाण्डेयले हालसम्म २१६ बलको सामना गर्दै ३० चौका र आठ छक्का प्रहार गरेका छन् । अविजित ८७ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । 

तिलक वर्मा (मुम्बई इन्डियन्स) 

आइपिएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले जारी सिजनमा बिर्सनलायक प्रदर्शन गरिरहेको छ । हालसम्म आठ खेल खेल्दा टोली अंकविहीन छ । 
जारी लिगमा जित निकाल्न नसक्ने मुम्बई एक्लो टोली हो तर उसका युवा ब्याटर तिलक वर्मा भने राम्रो लयमा देखिएका छन् । 

ओरेन्ज क्यापको दौडमा पाँचौँ स्थानमा रहेका तिलकले आठ खेलमा दुई अर्धशतकसहित २७२ रन बनाएका छन् । उनको औसत ४५.३३ र स्ट्राइक रेट १४०.२० छ । हालसम्म १९४ बलको सामना गरेका बर्माले १९ चौका र १३ छक्का प्रहार गरेका छन् । ६१ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । 

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १२:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया