राजस्थानसँग खेल्नुअघि बैंग्लोरलाई कोहलीको लयको चिन्ता

इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले राजस्थान रोयल्स (आरआर) को सामना गर्दैछ । अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ६८ रनमै अलआउट भएको आरसिबी आज उत्कृष्ट पुनरागमन गर्न चाहन्छ । 

विशेष गरी राजस्थानसँगको खेलमा समर्थकको नजर विराट कोहलीमाथि हुनेछ । उनी पछिल्लो दुई खेलमा शून्यमै आउट भएका छन् । आफ्नो पूरा खेल जीवनमै कोहली यसरी लगातार दुई खेलमा गोल्डेन डक भएको पहिलोपटक हो । जारी सिजनमा उनले ८ म्याच खेल्दा ११९ रन मात्र बनाउन सकेका छन् ।

लगातार रन बनाउन नसकिरहेका कोहलीले हैदराबादको खेलपछि वेष्ट इण्डिजका पूर्वखेलाडी तथा हैदराबादका ब्याटिङ प्रशिक्षक ब्रायन लारासँग लामो समय कुराकानी गरेका थिए ।

यो दृष्य सामाजिक सञ्जालमा भाइरल पनि भयो । विराटको खराबल यबारे बैंग्लोरका पूर्वकप्तान तथा प्रशिक्षक ड्यानियल भन्छन्, ‘कोहली अहिले खराब लयबाट गुज्रिरहेका छन्, तर कुनै पनि बेला उनको ब्याटबाट पर्याप्त रन निस्कनेछ ।’

उनी अगाडि थप्छन्, ‘धेरैले कोहली अहिले मानसिक दबाबमा रहेको ठान्छन् । तर, मलाई लाग्छ, यस विषयमा उनी वास्तवमै बलियो छन् ।’ कोहलीलाई आधुनिक पुस्ताका उत्कृष्ट ब्याटरमध्ये एक मानिन्छ । 

आइपिएलमा उनी सर्वाधिक रन बनाउने ब्याटर पनि हुन् । तर, कोहली लखनउ सुपर जायन्ट्सका दुश्मन्था चमिरा र हैदराबादका मार्को जेनसनको बलमा लगातार शून्यमै आउट हुन पुगेका छन् । यी दुई बलर विश्व क्रिकेटमा खासै चर्चित होइनन् । तर, विराटले यी दुईविरुद्ध पनि राम्रो खेल्न सकेनन् । यसले पनि बताउँछ कि उनी पछिल्लो समय खराब लयमा छन् ।



तथ्यांकले पनि कोहली खराब लयमा भएको देखाउँछ । उनी टी–२० मा मात्र नभएर टेस्ट र एकदिवसीयमा पनि लयमा छैनन् । यी तीनै ढाँचामा उनले शतक बनाउन नसकेको लामो समय भइसकेको छ । 

विराटको खराबल यबारे इंग्ल्याण्डका पूर्वकप्तान केभिन पिटरसनले भनेका छन्, ‘प्रत्येक महान ब्याट्सम्यान अहिले कोहलीकै जस्तो खराब लयबाट गुज्रिने गर्छन्, यो स्वभाविक हो । फेरि अर्को तथ्य के पनि हो भने यस्ता महान ब्याट्सम्यान केही समयका खराब लयपछि उत्कृष्ट प्रदर्शन गर्न पनि सफल हुन्छन् । त्यो दिन धेरै टाढा छैन, जति बेला कोहलीको ब्याटले सबैलाई उत्तर दिने छ ।’



भारतीय टिमका पूर्वप्रशिक्षक रवि शास्त्री विराटलाई अहिले आरामको आवश्यकता रहेको बताउँछन् । ‘सायद यी खेलाडीलाई धेरै थकान छ, मानसिक रूपमा पनि दबाबमा छन् । त्यसैले केही समयको विश्रामपछि उनले आफ्नो लय समात्नेछन्,’ शास्त्रीले भने । 

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १२:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया