धनगढीको मेयरका लागि त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा पनि चुनावी माहोल तातेको छ । आइतबार र सोमबार उम्मेदवारले मनोनयन दर्ता गरेसँगै चुनावी माहोल थप तातेको हो ।  

धनगढीमा पनि स्वतन्त्र र साना दलले सोमबार नै मनोनयन गरे पनि शीर्ष दलहरूले भने हतारमा उम्मेदवार टुङ्ग्याउँदै सोमबार मात्र मनोनयन गराए । मनोनयन सकिएसँगै अब कुन उम्मेदवारले जित्ला भनेर अनुमान सुरु हुन थालेका छन् ।

धनगढीमा विशेषगरी गठबन्धन (कांग्रेस र माओवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ को निर्वाचनमा धनगढीमा कांग्रेस, स्वतन्त्र माओवादी र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

सो निर्वाचनमा कांग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार हमाल दोस्रो, माओवादीका रामसमझ राना तेस्रो र एमालेका दुर्गाप्रसाद जोशी चौथो भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसका नृपबहादुर वडले १४ हजार ३२४ मत ल्याउँदै नगर प्रमुखमा जित हात पारेका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५२७ मत प्राप्त गरे ।  

त्यस्तै, माओवादीका उम्मेदवार रानाले १० हजार २०९ मत ल्याएका थिए । यद्यपि उनी चुनावको केही समयमै कांग्रेसमा प्रवेश गरेका थिए । एमालेका उम्मेदवार जोशीले ९ हजार ९४६ मत प्राप्त गरेका थिए । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मत प्राप्त गरेका थिए ।



धनगढी कांग्रेसको गढका रूपमा परिचित छ । तर, यसपालि गठबन्धनको उम्मेदवार नै भए पनि कांग्रेसका वडलाई चुनाव जित्न सजिलो नभएको विश्लेषण हुन थालेको छ । पार्टीभित्रको आन्तरिक कलह, पहिलो कार्यकालमा सन्तोषजनक काम गर्न नसक्नुले वडलाई जित निकाल्न समस्या हुन सक्छ  ।  

केन्द्रमा पाँच दलीय गठबन्धन भनिए पनि धनगढीमा भने कांग्रेस र माओवादीबीच मात्र तालमेल हुने देखिएको छ । नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलहरू गठबन्धनबाट बाहिरिएका छन् । उनीहरूले चुनावमा आ–आफ्नै उम्मेदवार खडा गरेका छन् । 



धनगढीमा कांग्रेस र माओवादीले मेयर र उपमेयरमा केन्द्रको निर्णय पालना गरेका छन् । तर, वडामा भने चर्को असन्तुष्टिका कारण यी दुई पार्टीबीचको सहमति कार्यान्वयन हुने सम्भावना कम छ ।   

यद्यपि मेयरका उम्मेदवार वड भने धनगढीमा आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘धनगढीमा काँग्रेस एक्लै बलियो हो, यसपालि गठबन्धन भएको हुँदा झन् बलियो भएको छ, त्यसले गर्दा मेरो कसैसँग प्रतिस्पर्धा हुँदैन । 

यता मेयरका स्वतन्त्र उम्मेदवार हमाल पनि यसपालि गठबन्धनलाई हराएर चुनाव जित्ने दाउमा छन् । उनी यसपालि अघिल्लो निर्वाचनभन्दा थप बलियो भएको पनि दाबी गर्छन् । 
‘०७४ को निर्वाचनमा छोटो समयको तयारीमा धनगढीवासीले राम्रो मत दिएका थिए, यसपालि राम्रो प्रचारप्रसार र आफू १९ वटै वडाका मतदाताहरूसँग घुलमिल भएको छु, त्यसले गर्दा मलाई धनगढीवासीले विश्वास गर्ने छन्,’ उनले भने ।

एमालेबाट उम्मेदवार बनेका रणबहादुर चन्दले चाहिँ पहिलोपटक टिकट पाएका हुन् । उनी पार्टीभित्र इमान्दार छवि भएका नेतामा चिनिन्छन् । चन्द पनि यसपालि एमालेले धनगढीमा मेयरमा जित निकाल्नेमा विश्वस्त छन् । ‘धनगढीको माटोसँग परिचित भएको हुँदा योजनाबद्ध अगाडि बढेको छु, त्यसले गर्दा धनगढीको विकासका लागि मलाई मत गर्ने छन्,’ उनले भने । 

आसन्न चुनावका लागि धनगढीको मेयर पदका लागि १० जनाको उम्मेदवारी परेको छ । मेयरको लागि वड, चन्द र हमालसहित लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ, स्वतन्त्रबाट उद्धवराज पन्त र मदनकृष्ण भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन् ।  

त्यस्तै, धनगढीको उपमेयरका लागि माओवादीबाट एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गादत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमला कुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १३:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया