स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहको व्यस्तता निकै बढेको छ । मेयरमा उम्मेदवारी मनोनयन गरेको भोलिपल्ट उनले चित्रकला प्रदर्शनीमा सहभागिता मात्र जनाइनन्, चाक्सीबारीस्थित आफ्नो निवासमा कांग्रेसका नेताहरुसँग लामो समय बिताइन् पनि ।
मेयरको टिकट पाएपछि यसको तयारी द्रुत गतिमा सुरु गरेकी सिर्जना सिंहले मंगलबार दिउँसो चाक्सीबारीस्थित आफ्नै निवासमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा मात्र होइन, प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई समेत भेटेकी थिइन् । आरजुसँगै अनुराधा कोइराला र नेपाल महिला संघ काठमाडौंका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए ।
थापासँगै चाक्सीबारीमा मंगलबार दिउँसो भीमसेनदास प्रधानलगायतका नेताहरु पनि पुगेका थिए । यी दुवै भेटमा सिर्जनालाई कांग्रेस नेताहरुले मेयरमा टिकट पाएकोमा बधाई त दिए नै, चुनाव जित्नका लागि अब गर्नु पर्ने कामको टिप्स पनि दिए ।
आरजुले सुरुमै सिर्जनालाई मेयरको टिकट दिइएकाले आफू निकै खुसी भएको बताइन् । उनले प्रकाशमान सिंहकी पत्नी मात्र नभएर सिर्जनाले गरेको योगदानको आधारमा टिकट पाएकाले त्यसलाई बुझ्नु पर्ने र अबको चुनौति भनेको जित निकाल्नु भएको बताएकी थिइन् ।
आफूले सिर्जनालाई सानैदेखि चिनेको र सिर्जनाले गणेशमान सिंह, प्रकाशमान सिंहको घर चलाएर बसेको कुरा निकै प्रशंसनीय भएको बताइन् । सिर्जना होलटाइमर राजनीतिमा लागेकाले उनी कसैको श्रीमती भएर मात्र मेयरको टिकट नपाएको बताएकी छिन् । सिर्जनालाई प्रकाशमान सिंह पत्नी भएकाले मात्र मेयरको टिकट नपाएको तर उनको राजनीतिमा भएको योगदानका कारण टिकट दिइएको पनि आरजुले बताइन् ।
त्यसपछि उनले सिर्जना सिंहलाई निर्वाचन जित्ने टिप्स दिन थालिन् । सिर्जना सिंह मेयर बनेमा काठमाडौं थप व्यवस्थित हुने बताउँदै उनले आफ्नो अनुभव सुनाइन् ।
चुनावको समयमा आफूनिकट नेता तथा कार्यकर्ताहरुले घेरेर राख्ने र मतदातालाईसमेत भेट्न नपाउने प्रसंग उनले निकालिन् । उनले सभामात्र गरेर नहुने तर मतदातालाई भेट्नका लागि समय निकाल्नु पर्ने र घरदैलोमा जान सिर्जनालाई सुझावसमेत दिइन् ।
सिर्जना सिंहले मेयरको टिकट पाएपछि लामो समयपछि चाक्सीबारी पुगेका कांग्रेस महामन्त्री गगन थापाले पनि सिर्जनालाई निर्वाचन जित्ने फर्मूला दिएका थिए ।
उनले सिर्जनाको जित सुनिश्चित भएको भन्दै अब टिम बनाएर प्रचारप्रसारमा केन्द्रित हुनु पर्ने पनि बताएका थिए । साथै, थापाले पछिल्लो समय काठमाडौंका नयाँ तथा युवा मतदाताहरुलाई मेयरका अर्का उम्मेदवार बालेन शाहले प्रभावित पार्न सक्ने भन्दै युवा मतदातालाई कांग्रेसले प्रभावित गर्न नयाँ उपायबारे सोच्नु पर्नेबारे पनि बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।