ब्याटिङ नचल्दा बैंग्लोरको अर्को हार, शीर्ष स्थानमा उक्लियो राजस्थान

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) २९ रनले पराजित भएको छ । बैंग्लोरको यो लगातार दोस्रो हार हो । उसले अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ९ विकेटको फराकिलो हार बेहोरेको थियो ।

आफ्नो नवौँ खेलमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान फाफ डुप्लेसिसले २३, वानिन्दु हसरंगाले १८, शाहबाज अहमदले १७ र रजित पाटिदारले १६ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानविरुद्ध पनि विराट कोहलीको ब्याट चल्न सकेन । अघिल्लो दुई खेलमा लगातार शून्यमै आउट भएका उनले राजस्थानविरुद्ध १० बलमा केवल ९ रन मात्र जोड्न सके । त्यस्तै, टिमका महत्वपूर्ण ब्याटर ग्लेन म्याक्सवेल शून्यमै पवेलिएन फर्किए । 

राजस्थानका लागि कुलदीप सेनले ३.३ ओभरमा २० रन दिएर ४ विकेट लिए । रविचन्द्रन आश्विनले तीन र प्रसिद्ध कृष्णाले दुई विकेट हात पारे । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनायो ।

उसका लागि युवा ब्याटर रियान परागले ३१ बलमा चार छक्का र तीन चौकासहित अविजित ५६ रन बनाए । कप्तान सञ्जु सामसनले २७, रविचन्द्रन आश्विनले १७ र डारियल मिचेलले १६ रन जोडे । बैंग्लोरका लागि मोहम्मद सिराज, जोस हेजलउड र वानिन्दु हसरंगाले दुई/दुई विकेट लिए । 

यो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ म्याच खेल्दा ६ मा जित र दुई खेलमा हार बेहोरेको राजस्थानले १२ अंक जोडेको छ । बैंग्लोर तालिकाको पाँचौँ स्थानमा छ । उसले नौ म्याचमा पाँचमा जित र चार खेलमा हार बेहोरेको छ ।   





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ६:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया