फाटेको मन लिएर चुनावमा होमिएको कांग्रेस

स्थानीय तह निर्वाचनको मतदानको दिनका लागि अब दुई सातामात्र बाँकी छ । विभिन्न पदमा उम्मेदवारी दिएकाहरु अब चुनाव प्रचारप्रसारमा लाग्न थालिसकेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ का लागि देशभर रोचक प्रतिस्पर्धा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच हुने निश्चित भइसकेको छ । केही स्थानहरुमा स्वतन्त्र उम्मेदवारले पनि चर्चा पाएका छन्, उनीहरु प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई केही स्थानमा चुनौति बन्ने देखिएको छ ।

सत्तारुढ गठबन्धनले गरेको चुनावी भागवण्डाले केही प्रमुख स्थानहरुमा अहिले पनि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट बनेका छन्, कतिपय ठाउँमा बागी उम्मेदवारी परेको छ । विशेषगरि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अझै पनि चुुनावी तालमेलका कारण आफूहरु असहज भएको बताइरहेका छन्, भरतपुर, पोखरालगायतका महानगरमा नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेसमा चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पहिले देखि नै दुई मत देखिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेल गर्नु पर्ने र यो गठबन्धनलाई निरन्तरता दिनु पर्ने पक्षमा थिए भने कांग्रेसको अर्को खेमा डा. शेखर कोइराला पक्षधर नेताहरु चुनावी तालमेल गर्न नहुने र कांग्रेस एक्लै निर्वाचनमा होमिनु पर्ने तर्क गर्दै आइरहेका थिए । 

यी दुई समूहबीच कतिसम्म कटुतापूर्ण सम्बन्ध भयो भने कोइराला पक्षधर नेताहरुले सार्वजनिक कार्यक्रमहरुमा पनि चुनावी तालमेल गर्न नहुने अभिव्यक्ति दिए । उनीहरुको अभिव्यक्तिलाई लिएर गठबन्धनका अरु दलहरुले पनि ठूलो आक्रोश पोखे । कतिसम्म भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोइराला पक्षधर नेताहरुको अभिव्यक्तिविरुद्ध बारम्बार पत्रकार सम्मेलन तथा पार्टीका कार्यक्रममा पनि समय खर्चिए ।

कोइराला पक्षधरको सहमति नहुँदा नहुँदै कांग्रेस सभापति देउवा चाहिँ चुनावी तालमेलका लागि वार्ताहरु गरिरहेका थिए । बालुवाटारमा बसेका सत्तारुढ गठबन्धनका बैठकहरुमा सभापति अहिलेको स्थानीय निर्वाचन मात्र नभएर पछि हुने प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनहरुमा पनि तालमेल गरेर अगाडि बढ्ने बताइरहेका छन् । 



तर, स्थानीय निर्वाचनमा भएको यो तालमेलको विरोधमा भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारहरु खडा भएका छन् । कांग्रेसका बागी उम्मेदवारहरु दुवै ठाउँमा सत्तारुढ गठबन्धनका उमेरका लागि चुनौति पनि बनेका छन् । कतिसम्म भने भरतपुरमा त कांग्रेसका बागी उम्मेदवारलाई नेकपा एमालेले आफूसँग मिल्न प्रस्तावसमेत गरिसकेको छ ।

एकातिर चुनावी गठबन्धनका कारण कांग्रेसका स्थानीय कार्यकर्तामा रोष देखिन थालेको छ भने अर्कोतिर कांग्रेसबाट टिकट पाउँदा पनि ‘फेयर’ नभएको अभिव्यक्ति कांग्रेसकै नेताहरुले दिन थालेका छन् । यसको अर्थ हो, चुनावमा होमिएको कांग्रेसमा पछिल्लो समय एकजुटता देखिएको छैन ।



बुधबार विहान प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमतिता भएको र इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । मंगलबार विहान मात्र प्रदेश १ का कांग्रेस युवा नेता गुरुराज घिमिरेले आफू कांग्रेसको कार्यशैलीबाट आजित भएको आशय व्यक्त गर्दै सक्रिय राजनीतिबाट नै सन्न्यास लिने मुडमा पुगेको बताएका छन् ।

‘यी दुवै कुराले कांग्रेस एक भएर निर्वाचनमा जानु पर्ने भए पनि विवाद देखिएको छ, जसका कारण हामीलाई निर्वाचनमा समेत केही असर पर्ने स्पष्ट छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘यसले दीर्घकालीन रुपमा पनि कांग्रेसलाई फाइदा गर्दैन ।’

  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १०:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया