नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस चुनावी घोषणापत्रबारे दिएको प्रतिक्रियालाई ‘लाज छोप्न रचिएको निन्जा टेक्निक’को संज्ञा दिएका छन् ।
उनले ओलीको टिप्पणीलाई मनगढन्ते र कुण्ठाको पराकाष्ठाको उपमासमेत दिएका छन् ।
‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो,’ नेता पौडेलले ट्विटरमा लेखेका छन्, ‘राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा हुन् । आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउ गर्छन् उति नाङ्गिदै जान्छन्, सस्ता कुराले रक्षात्मक बनाउँछ ।’
ओलीले मंगलबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘गालीबाहेक केही नभएको’ र ‘पागलहरूको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।
उनको टिप्पणीपछि कांग्रेस नेताहरूले सामाजिक सञ्जालबाट जवाफ दिइरहेका हुन् । साथै, ओलीले गरेको सो टिप्पणीको जवाफ दिन कांग्रेसले पत्रकार सम्मेलन पनि गर्दैछ ।
कांग्रेस महामन्त्री एवं निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले ओलीको टिप्पणीको जवाफ दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।