स्थानीय निर्वाचनमा महिला : एमालेमा प्राथमिकता, गठबन्धनको नजरमा परेनन्

बझाङमा नेकपा एमालेले बुंगल नगरपालिकामा मेयर पदमा महिलालाई उम्मेदवार बनाएको छ । यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि एमालेले नगरपालिकाको मेयरमा जिल्ला कमिटी सदस्य धनदेवी कुवँरलाई उम्मेदवार बनाएको हो ।

नेतृत्वमा महिला पनि पुग्नुपर्छ भन्ने मान्यता आत्मसाथ गर्दै पार्टीले नगरपालिकाको मेयरमा महिलालाई उठाएको एमाले बझाङका इन्चार्ज भैरव सिंहले बताए । ‘पालिकामा महिलालाई पनि नेतृत्व दिनुपर्ने र उनीहरूको क्षमता विकासका लागि महिलालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने मान्यताले हामीले महिलालाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘जिल्लाका १२ वटा पालिकामध्ये एक पालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाएका छौँ । अन्य ११ वटा पालिकामा हामीले महिलालाई नै उठाएका छौँ ।’ 

नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी कुँवरले अन्याय, असमानता, विभेदरहित नगर निमार्ण, महिला, बाल र वातावरणमैत्री नगर बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । ‘सबैभन्दा पहिला त हिंसारहित घर र समाज निमार्णमा लाग्नेछु । अन्याय अत्याचारका विरुद्धमा मेरो अभियान हुनेछ । त्यसपछि नगरलाई वातावरणमैत्री बनाउन विभिन्न खालका योजना बनाउनेछु,’ उनले भनिन् । 
 
एमालेले बुंगल नगरपालिकाको उपमेयरमा अम्मराज जोशीलाई उम्मेदवार बनाएको छ । यता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने कुनै पनि पालिका प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छैन । यसपालि पनि महिलालाई पालिका उपप्रमुख वा उपाध्यक्षमै सीमित राख्नुले महिलामाथि विभेद भएको कांग्रेसकी नेतृ शान्ती महतले बताइन् । 

संविधानमा प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिलालाई अनिवार्य गरेको भए पनि गठबन्धनले सबै पालिकामा त्यो व्यवस्था लागू नगरेको उनको भनाइ छ । १२ स्थानीय तह रहेको बझाङका सात पालिकाको प्रमुख र ६ पालिकाको उपप्रमुखको भाग कांग्रेसले पाएको छ । 

उसले बुंगल र जयपृथ्वी नगरपालिका, वित्थडचिर, खप्तडछान्ना, मष्टा, सुर्मा र साइपाल गाउँपालकामा पुरुषलाई प्रमुख/अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै, थलारा र दुर्गाथली गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसले पुरुष उम्मेदवारलाई नै अघि सारको छ । उसले साइपाल, तलकोट, केदारस्यूँ र सुर्मा गाउँपलिकामा मात्र महिलालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

गठबन्धनमा रहेको माओवादी केन्द्रले भने आफ्नो भागमा परेका सबै पालिकामा प्रमुख पदमा पुरुषलाई मात्र उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले जिल्लामा छबिसपाथिभेरा र दुर्गाथली गाउँपालिकाको अध्यक्ष पाएको छ । यी दुवै पालिका अध्यक्षमा उसले पुरुष उम्मेदवारलाई टिकट दिएको छ । 



उपप्रमुखको भाग पाएको जयपृथ्वी नगरपालिका, बित्थडचिर, मष्टा, खप्तडछान्ना गाउँपालिका उपप्रमुखमा पनि माओवादीले पुरुषलाई नै अघि सारेको छ । तीन पालिका प्रमुख र दुई पालिका उपप्रमुख पाएको एकीकृत समाजवादीले पनि पुरुषलाई नै प्राथमिकता दिएको छ ।

उसले थलारा, तलकोट, केदारस्यूँ गाउँपलिकामा अध्यक्ष पद पाएको छ । यी तिनै पालिकामा उसले अध्यक्षको टिकट पुरुषलाई दिएको छ । बुंगल नगरपालिका र छबिसपाथिभेरा गाउँपालिकामा उपप्रमुख र उपाध्यक्ष भाग पाएको नेकपा यसले यहाँ पनि पुरुष उम्मेदवारलाई अघि सारेको छ । 
 



  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १४:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया