दुर्गमका दुई युवा, जो वडाध्यक्षका लागि स्वतन्त्र र गठबन्धनबाट भिड्दै छन्

स्थानीय तहको निर्वाचन मिति (३० वैशाख) आउन अब धेरै दिन बाँकी छैन । मतदान गर्न १६ दिन बाँकी रहेको अवस्थामा अहिले गाउँ/सहर निर्वाचनमय भएका छन् । 

नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू जनताको घरदैलोमा छन् । केन्द्रीय नेताहरू पनि गाउँ पसेका छन् । ठाउँठाउँमा चुनावीसभा भइरहेका छन् । नेताहरूले फेरि आश्वासनका पोका फुकाइरहेका छन् । अरू बेला जति नै आक्रोशित र निराश भए पनि अहिले मतदाता उम्मेदवारका गफ सुन्न उत्सुक नै छन् । 

यसपालिको स्थानीय चुनावमा गठबन्धन भर्सेस एमाले जस्तै छ । महानगरदेखि वडासम्म तालमेल छ । तर, धेरै स्थानमा गठबन्धन भत्किएको पनि छ । भत्किएको गठबन्धन जोड्न शीर्ष नेताहरूले नै दबाब दिइरहेका छन् । यसका बाबजुद धेरै उम्मेदवार कम्मर कसेर चुनावी मैदानमा भिड्न तयार छन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७, मा पनि यस्तै दृश्य देख्न पाइएको छ । यो वडामा गठबन्धनको सहमतिअनुसार कांग्रेसले वडाध्यक्ष पाएको छ । तर, नेकपा माओवादी केन्द्रको वडा कमिटीले सहमति नजनाउँदा गठबन्धन भत्किएको छ । दर्जनौं माओवादी नेता/कार्यकर्ताले राजीनामा दिएका छन् । र, उनीहरूले वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार खडा गरेका छन् ।  

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका लोकेशन्द्र सिंह धामी (निर्मल) ले समेत वडा नम्बर ७ कांग्रेसलाई दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । उनकै नेतृत्वमा यसपालि वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्रबाट विजय धामी उम्मेदवार बनेका छन् । 

उम्मेदवारी फिर्ता लिनका लागि उनलाई चर्को दबाब छ । तर, विजयले भने कुनै पनि हालतमा पनि उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । ‘उम्मेदवारी फिर्ता लिने कुनै सम्भावना छैन । सबैको साथ छ, माओवादीको टिम नै स्वतन्त्रको पक्षमा छ,’ विजयले भने, ‘उम्मेदवारी दिनु मेरो रहर नभएर यहाँका जनताको चाहना हो । म जनताको भावनाविपरीत काम गर्दिन । वडावासीकै चाहनाअनुसार मैले उम्मेदवारी दिएको हुँ ।’



तपाइँको चुनावी एजेण्डा के–के हुन्? यो प्रश्नमा धामीले भने, ‘मुख्यतया हाम्रो वडामा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानीकै समस्या छ, मेरो पहिलो प्राथमिकता भनेको यी काम पूरा गरेर वडावासीलाई खुसी पार्नु हो । अहिलेको वडाध्यक्षको पालामा पनि धेरै काम भएका छन् । तर, अझै गर्नुपर्ने धेरै काम छन् । पदम मण्डेलको पालामा बाँकी रहेका काम पूरा गर्नु पनि मेरो मुख्य लक्ष्य हुनेछ । राम्रो स्वास्थ्य चौकीको व्यवस्था, युवाहरूको लागि रोजगारी सिर्जना, सडक निर्माणको कामलाई थप व्यवस्थित गर्ने मेरो एजेण्डा छ ।’ 

साथै, उनले कृषि, पर्यटन, पर्यावरणको कुरालाई पनि उत्तिकै प्राथमिकता दिने बताए । ‘हाम्रो क्षेत्रले पर्यटकको आकर्षक गन्तव्य बन्ने सम्भावना बोकेको छ । यहाँका हिमाल, खोला, झरना, मन्दिरको मात्र प्रचार गर्न सक्यौं भने पर्यटनबाट मात्रै वडाको मुहार फेर्न सक्छौं,’ उनले भने, ‘पर्यटनको विकासका सबैभन्दा महत्वपूर्ण कुरा यातायात हो । हामी त्यसको लागि पनि केन्द्रसँग पहल गर्नेछौं । कृषिका लागि पनि हाम्रो क्षेत्रले धेरै सम्भावना बोकेको छ, त्यसका लागि पनि ठोस योजनाका साथ काम गर्नेछु । अहिले धेरै नभनौं । बोलेरभन्दा म गरेर देखाउन चाहन्छु ।’



विजय गाउँमा शिक्षित र राम्रो छवि भएको युवा भनेर चिनिन्छन् । उनले बिएडसम्मको अध्ययन गरेका छन् । गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनेका कांग्रेसका मीनबहादुर मण्डेल पनि शिक्षित युवा हुन् । उनले अंग्रेजी साहित्यमा एमएड गरेका छन् ।

लामो समयदेखि शिक्षण पेसामा रहेका मण्डेल अब भने विभिन्न चुनावी प्रतिबद्धताका साथ मैदानमा होमिएका छन् । अचानक वडाध्यक्षको टिकट पाएका उनले घोषणापत्र भने लेखिसकेका छैनन् । मण्डेलले पनि आफ्नो मुख्य एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात, खानेपानी नै रहेको बताए ।  

‘मेरो मुख्य एजेण्डा भनेको शिक्षा हो । त्यो पनि प्राविधिक शिक्षा । म आफैँ पनि शिक्षण पृष्ठ भूमिबाट आएकाले यो विषयमा बढी ज्ञान छ । यहाँको अहिलेको आवश्यकता भनेको गुणस्तरीय शिक्षा दिनु हो । वडामै एउटा उत्कृष्ट क्याम्पस खोल्ने मेरो सपना छ, वडाध्यक्षमा निर्वाचित भइसकेपछि त्यो सपना साकार गर्न पूरा कोसिस गर्नेछु । यो सपना मसँग मात्र जोडिएको छैन । राम्रो शिक्षा दिनसके मात्र गाउँमा परिवर्तन हुनेछ, म त्यसमै जोड दिनेछु,’ उनले भने । 

मण्डेलले अगाडि भने, ‘शिक्षासँगै मेरो प्राथमिकता पर्यटन पनि हुनेछ । ल हेर्नुस् त हाम्रो गाउँमा के छैन । माथि हिमाल छ, हिमालको काखमा मन्दिर छ । ठाउँठाउँमा झरना छन्, हामीले चिन्ह र प्रचार गर्न सकेका मात्र छैनौं । म निर्वाचित भएपछि यी कुराहरूलाई विशेष प्राथमिकतामा राख्नेछु । बासुधारा मन्दिर, पाथिभेरा हिमाल, सुर्मा तालको प्रचार र त्यहाँ पुग्नका लागि म पहल गर्नेछु ।’

वडाध्यक्षमा उम्मेदवारी दिनुअघि मण्डेल शिक्षक थिए । एक दशकभन्दा बढी शिक्षण गरेका उनी अब भने राजनीतिमा होमिने तयारीमा छन् । ‘मैले २०६६ सालदेखि पढाउन थालेको हुँ, महिनामा ४० हजार पारिश्रमिक पाइरहेको थिए । अंग्रेजीमा एमएड गरेको छु । अब भने शिक्षकबाट राजीनामा दिए राजनीतिमा हाम फालेको छु, हेरौं यात्रा कस्तो हुन्छ,’ मण्डेलले भने ।

उनले अन्तिम समयमा टिकट पाएका हुन् । मनोनयनको अघिल्लो दिनसम्म गाउँमा गठबन्धनबाट वडाध्यक्षमा कांग्रेसका सुनपाल बोहराको नाम चर्चामा थियो । तर, स्वतन्त्रबाट युवा उम्मेदवारलाई अगाडि सारिएपछि बोहरा पछि हटे । र, मण्डेलले वडाध्यक्षको टिकट पाए । 

‘अचानक टिकट पाए, अचानक नै मनोनयन नै गर्यौं । चुनाव हो हार/जित हुन्छ । जित्ने आत्मविश्वासका साथ मैदानमा छु,’ उनले भने । माओवादीमा भने वडाध्यक्षको सम्भावित उम्मेदवारमा विजयको नाम पहिलेदेखि नै चर्चामा थियो । यद्यपि माओवादीमा उनीबाहेक दुई/चारजना अरू पनि आकांक्षी थिए । 

अघिल्लोपटक माओवादीले नै जितेकाले यसपालि पनि आफूहरूले नै टिकट पाउनेमा उनीहरू विश्वस्त थिए । तर, अन्तिममा उनीहरूले सोचेअनुरूप निर्णय बाहिर आएन । ‘हामीलाई वडा नम्बर ७ मा माओवादीले नै टिकट पाउँछ हामी विश्वस्त थियौं । तर, अविश्वसनीय निर्णय सुन्नुपर्यो । वडावासीको भावनाविपरीत माथिल्लो तहका नेताहरूले निर्णय गरेकाले पार्टीबाट राजीनामा दिएर स्वतन्त्ररूपमा चुनावमा भिड्न लागेका हौं,’ विजयले भने ।

त्यस्तै, वडा नम्बर ७ को अध्यक्षका लागि नेकपा एमालेबाट डबलहादुर धामीले पनि उम्मेदवारी दिएका छन् । वडा नम्बर ७ गाउँपालिकाको सबैभन्दा दुर्गम मानिन्छ । अहिले पनि यहाँका सबै स्थानीय स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्यको पहुँचमा पुग्न सकेका छैनन् ।  

  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १८:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया