टिकटको विषयमा माओवादी कार्यकर्ताबीच झडप, एकजना घाइते

जुम्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् ।

उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट आएपछि दुई पक्षबीच झडप भएको हो । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको नाममा पार्टीको टिकट आएपछि उनको उम्मेदवारी रोकिएको थियो । रोकायाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी थिइन् । 

प्रहरी निरीक्षकका अनुसार सो विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । झडप हुँदा ढुंगा प्रहारबाट हिमा गाउँपालिका ६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका छन् । 

त्यस्तै, विनसा रोकायाले आफूलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर लाइनमा बसेको थिए । तर, केही व्यक्तिले अर्को टिकट लिएर कल्पनाको दर्ता गराएकाले आफू पीडित भएको विनसाले बताइन् । 

प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । कल्पना परियार उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झडप भए पनि प्रहरी निरीक्षक भट्टसहितको टोली हिमामा पुगेको छ ।



नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताइन् । उनले दर्ता गराउनेको दोष नभई बीचमा समस्या निम्त्याउनेको दोष भएको बताइन् । उनले  माओवादी नेता कार्यकर्तालाई संयम भएर निर्वाचनमा लाग्न अनुरोध गरिन् ।

नेकपा माओवादी केन्द्रले ०७४ सालको स्थानीय तहमा अध्यक्षसहित बहुमत विजय हासिल गरेको थियो । यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा नेकपा माओवादी केन्द्रलाई हिम गाउँपालिकामा विजयी हात पार्न चुनौती देखिएको छ ।



  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १९:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया