चितवनको भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचन यसपटक थप रोचक र जटिल हुने निश्चित भएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीच हुने रोचक तथा जटिल प्रतिस्पर्धामा यसपटक कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ट्विस्ट एन्ड टर्न्स ल्याउन सक्ने देखिन्छ ।
त्यसैले हुनुपर्छ, पौडेलले उम्मेदवारी फिर्ता लिउन् भन्नका लागि कांग्रेस नेताहरुको चितवनमा लर्को लागेको देखिन्छ । कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री तथा कांग्रेस नेता उमेश श्रेष्ठ त चितवन पुगेर नै पौडेलसँग भेटघाट गरेका छन् । उनीहरुले पौडेललाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरिरहेका छन् ।
भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका पौडेल अहिले राष्ट्रिय राजनीतिका लागि टाउको दुखाइको विषय बनेका छन् । यो स्वभाविक पनि छ किनकि नेपाली कांग्रेसका चितवनका नेताहरुले यसपटक गठबन्धन भएको खण्डमा पनि चितवनमा मेयरको पद कांग्रेसलाई चाहिने अडान लिइरहेका थिए ।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणुलाई फेरि मेयरमा दोहोर्याउन चाहे, यही अडान गठबन्धनमा पनि राखे । फलतः गठबन्धनकी उम्मेदवार बनेकी छिन्, रेणु दाहाल ।
गठबन्धनबाट रेणु नै उम्मेदवार बन्ने छनक पाएपछि नेकपा एमालेले त्यहाँ स्थानीय रुपमा पपुलर नेतालाई मैदानमा उतार्ने सोच बनायो । अनि विजय सुवेदीलाई प्रदेश सभा सदस्यबाट राजीनामा गर्न लगायो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीसँग झिनो मतअन्तरले मात्र विजयी भएकी थिइन्, रेणु दाहाल । त्यसैले यसपटक एमालेले आफूलाई बलियो देखेको छ । अघिल्लो निर्वाचनमा २०३ मतले मात्र विजयी भएकाले पनि रेणुलाई टक्कर दिन सक्ने नेताका रुपमा विजय सुवेदीलाई एमालेले अगाडि सारेको हो ।
भरतपुर महानगरका प्रायः सबै स्थानमा राम्रो छवि बनाएका सुवेदीलाई मैदानमा झारेपछि नेकपा एमालेले गठबन्धनविरुद्ध अर्को पनि हतियार प्रयोग गर्यो । चितवनमा राप्रपा नेता विक्रम पाण्डेको राम्रो पकड भएको र भरतपुर महानगर उनको पकड क्षेत्रमा पर्ने भएकाले एमालेले भरतपुर महानगरमा राप्रपासँग चुनावी तालमेलसमेत गरेको छ ।
एमालेको राप्रपासँगको चुनावी तालमेल, रेणुविरुद्ध कांग्रेस नेताको बागी उम्मेदवारीले त्यहाँको निर्वाचनमा मतको संख्यामा प्रभाव पार्ने देखिन्छ । आउनुहोस्, यसबारे चर्चा सुरु गर्दा पहिले भरतपुरमा यसपटक नयाँ मतदाता कति थपिएका छन् भन्ने तथ्यांक हेरौँ ।
भरतपुर महानगरपालिकामा यसपटक ३५ हजारभन्दा धेरै मतदाता थपिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुरमा १ लाख ५० हजार २ सय ७४ जना मतदाता रहेका थिए । यसपटक भरतपुरमा मतदाता संख्या बढेर १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ ।
थपिएका मतदाताको रुझान कुन पार्टीमा छ वा कुन उम्मेदवारमा छ भन्ने हेर्न बाँकी छ । तर, यसले भन्दा पनि भरतपुरमा अहिलेको निर्वाचनलाई सबैभन्दा बढी प्रभावित गर्ने देखिएको छ, बागी उम्मेदवारीले ।
स्थानीय तह निर्वाचन हुने निश्चित भइसकेपछि चितवनका कांग्रेस नेताहरुको एउटै स्वर थियो– यसपटक यहाँका मतदाताले रुख चिन्हमा नै मतदान गर्न पाउनु पर्छ । यही माग लिएर चितवनका सभापति राजेश्वर खनालसहितको टोलीले काठमाडौंमा डा. शेखर कोइराला र शेरबहादुर देउवालगायतका नेताहरुलाई भेटघाट पनि गरेको थियो । त्यति बेला कोइरालाले उनीहरुको यो माग पूरा हुने बताएका थिए । तर, कांग्रेस सभापति देउवाले यसलाई बेवास्ता गरे, गठबन्धनलाई प्राथमिकतामा राखे र माओवादी केन्द्रलाई नै भरतपुर दिन तयार भए ।
कांग्रेसले भरतपुर छाड्न तयार भएको थाहा पाएपछि कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले यसको पनि विरोध नगरेका होइनन् । केही वडामा त केहीले राजीनामा पनि दिएका छन् ।
अनि बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भनेका छन्– मैले कांग्रेसलाई मात्र होइन, चितवनमा लोकतन्त्रलाई पनि बचाउन उम्मेदवारी दिएको हुँ ।
बागी उम्मेदवार पौडेल बनेपछि नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले केही चुनावी स्टन्टहरु पनि गर्न भ्याएका छन् । कतिसम्म भने उनले मनोनयनको दिनमा नै कांग्रेसका संस्थापक बिपी कोइरालाको शालिकमा माल्यापर्ण गर्न पुगे । उम्मेदवारी दर्ताअघि नै बिपी कोइरालाको शालिकसम्म पुगेका सुवेदीले आफू बिपीबाट प्रभावित भएको अभिव्यक्तिसमेत दिएका छन् ।
यसबाट प्रष्ट छ, उनले भरतपुरमा भड्किएका नेपाली कांग्रेसका मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन चाहन्छन् । यहीबीचमा उनले बागी उम्मेदवार जगन्नाथ पौडेलसँग पनि छलफललाई अगाडि बढाएका छन् । केही प्रस्तावहरु पनि पौडेललाई राखेका छन् । यसमा पौडेल सकारात्मक छन् वा छैनन्, यसबारे कुनै जवाफ पौडेलले दिएका छैनन् ।
तर, पछिल्लो अवस्था हेर्दा पौडेलले बागी उम्मेदवारी फिर्ता नलिने देखिन्छ । यस्तो भएको खण्डमा कांग्रेसको निकै धेरै मत काटिनेछ, गठबन्धनकी उम्मेदवार रेणु दाहालले ती मतको उपभोग गर्न पाउने छैनन् । यसले गर्दा नेकपा एमालेका विजय सुवेदीलाई सहज हुने देखिन्छ ।
रेणुका लागि यसपटक भरतपुर महानगर असहज हुनुको पछाडि अर्को पनि फ्याक्टरले काम गर्नेछ । उनी पाँच वर्ष मेयरमा आसिन हुँदा उनले गरेका कामहरुको जति प्रशंसा हुनु पर्ने थियो, त्यो अहिले भरतपुरमा देखिँदैन । भरतपुरमा नै बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला अहिले लथालिंग अवस्थामा पुग्नुमा पनि भरतपुरवासीले रेणुलाई दोष लगाइरहेका छन् । यसले पनि उनलाई चुनावमा केही असर गर्ने देखिन्छ ।
रेणुलाई यसपटक निर्वाचनमा असर गर्ने अर्को फ्याक्टर हो, नेकपा माओवादीप्रति बढेको आलोचना । तत्कालीन नेकपाको आधिकारिकतामाथि प्रश्न उठेपछि विभाजन भएर जन्मिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबारे चितवनमा नेकपा माओवादी केन्द्रको बढी आलोचना भएको छ । नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन चितवनमा गर्नु, रामबहादुर थापा बादललगायत नेताहरुले चितवनमा पुगेर बारम्बार नेकपा माओवादी केन्द्रका आलोचना गर्नुले पनि भरतपुरमा नेकपा माओवादी केन्द्रका आलोचक बढेका छन् । यसले पनि आगामि निर्वाचनमा रेणुलाई असर गर्ने देखिन्छ ।
त्यसैले, अनुमान गर्न सकिन्छ– यसपटक राप्रपासँगको तालमेल र गठबन्धनको मत कांग्रेसका बागी उम्मेदवारले काट्ने देखिएकाले र २०७४ को स्थानीय निर्वाचनमा रेणु र एमाले उम्मेदवार ज्ञवालीबीचको झिनो मतान्तर भएकाले यसपटक रेणु दाहालभन्दा भरतपुरमा विजय सुवेदी बलिया देखिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।