चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
फाइल तस्वीर

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय लेखा तथ्यांक प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको बताए ।

उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको बताए । विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो ।

बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो ।

कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ । गत वर्ष प्रारम्भिक अनुमान भने ४ प्रतिशत भन्दा आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो ।

विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ ।



चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो ।



  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १६:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया