कुलदीपको उत्कृष्ट बलिङमा कोलकाताविरुद्ध दिल्ली विजयी

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध दिल्ली क्यापिटल्स ४ विकेटले विजयी भएको छ । जारी सिजनमा दिल्लीको यो चौथो जित हो । 

आफ्नो आठौँ खेलमा कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । उसको जितमा डेविड वार्नर र रोभम्यान पावेलले महत्वपूर्ण पारी खेले । वार्नरले २६ बलमा आठ चौकासहित ४२ रन बनाए । ओपनर पृथ्वी शा शून्यमै आउटका बाबजुद वार्नरले आक्रामक पारी खेलेका हुन् ।

पावेलले १६ बलमा तीन छक्का र एक चौकाको सहयोगमा अविजित ३३ रन जोडे । अक्षर पटेल २४, ललित यादव २२ र मिचेल मार्श १३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

कोलकाताका लागि उमेश यादवले ४ ओभरमा २४ रन दिएर सर्वाधिक चार विकेट लिए । हर्षित राणा र सुनिल नारायणले एक/एक विकेट हात पारे । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।  

उसका लागि नितिश राणाले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा तीन चौका र चार छक्कासहित ५७ रनको योगदान दिए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ४२ र रिंकु सिंहले २३ रन बनाए ।  

दिल्लीका लागि कुलदीप यादवले चार, मुस्तफिजुर रहमानले तीन, अक्षर पटेल र चेतन सकारियाले एक/एक विकेट लिए । यो जितसँगै दिल्ली आठ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । कोलकाता ६ अंकका साथ आठौँ स्थानमा छ । उसले ९ म्याच खेल्दा तीन खेलमा मात्र जित हात पार्न सकेको छ । 
 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार ६:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया