जयपृथ्वी नगरपालिका मेयर उम्मेदवार सिंहको प्रतिबद्धता : एक टोल एक सिंचाइ पोखरी, एक घर एक धारा

नेकपा एमालेबाट जयपृथ्वी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका सुरतबहादुर सिंहले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

सिंहले प्रतिबद्धता पत्रमा आफू नगरपालिकामा निर्वाचित भएमा जनजीविकाको विषयलाई प्राथमिकतामा राख्ने दाबी गरेका छन् । पूर्वगाविस अध्यक्षसमेत रहेका उनले समृद्ध नगरपालिका बनाउनु नै आफ्नो मूल एजेण्डा रहेको पनि उल्लेख गरेका छन् ।

‘यहाँका सबै नागरिक, आफन्त, शुभचिन्तक हुन्, त्यसकारण मैले जयपृथ्वी नगरपालिकाको विकासका लागि तनमन र वचनले काम गर्नु छ । हामीले फलानोले केही गरेन, भएन भन्न मात्र जानेका छौ । हामीले चुनेर पठाएको नेतृत्वलाई हामीले प्रश्न गर्न सक्नु पर्छ । जनप्रतिनिधिले काम गर्दैन भने हामीले चुप लागेर बस्ने अवस्था आउन दिन हुँदैन,’ सिंहले भनेका छन् ।
  
उनले आफू नगरपालिका प्रमुखमा विजयी भएमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खानेपानी सरसफाइ, सिंचाइ, वन तथा वातावरण,  पर्यटन, रोजगारी, कृषि, सामाजिक सुरक्षा, सुशासनको क्षेत्रमा विशेष काम गर्ने दाबी पनि गरेका छन् ।  

मेयर उम्मेदवार सिंहले आफू विजयी भएमा तीन वर्षभित्र नगरपालिकाको सबै ठाउँमा विद्युत पुर्याउने, बायोग्यास, गोबर ग्यास कार्यक्रम लागू गर्ने, एक घर एक धाराको व्यवस्था, एक टोल एक सिंचाइ पानी पोखरी बनाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।  





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १०:५९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया