एकीकृत समाजवादीबाट ३५ जनप्रतिनिधि निर्विरोध, उनीहरूसँग प्रतिस्पर्धा गर्ने आँट कसैको भएन : माधव नेपाल

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन् । उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गरे ।

‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रूपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरूमध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा (एकीकृत समाजवादी)सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरू निर्विरोध निर्वाचित भए । १ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरू निर्विरोध निर्वाचित हुनुभयो । झण्डै ३५ जना व्यक्तिहरूले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा(एकीकृत समाजवादी)को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग’ उनले भने ।

उनले गठबन्धनमा आवद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताए । उनले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए । स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताए ।

उनले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताए । अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोलसम्म बिस्तार गर्न पनि नेता, कार्यकर्तालाई आग्रह गरे ।





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १५:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया