बझाङमा स्थानीय तहको निर्वाचनका लागि बागी उम्मेदवारी दिएका अधिकांशले मनोनयन फिर्ता लिएका छन् । यही ११ र १२ वैशाखमा बागी उम्मेदवारी दर्ता गराएका ११२ उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेहरूमा अधिकांश पार्टीले टिकट नदिएको भन्दै रुष्ट भएर उम्मेदवारी दर्ता गराएकाहरू रहेका छन् ।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन जयपृथ्वी नगरपालिकाका १६ जनाले फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूमा जयपृथ्वीको मेयरमा उम्मेदवारी दर्ता गराएका निर्पराज जोशी, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका भक्तराज जोशी र जनार्धन बम्मसहित १६ जना रहेका छन् ।
त्यसैगरी, तलकोट गाउँपालिकामा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी कविता सिंहसहित तीन जनाले पनि मनोनयन फिर्ता लिएका छन् । मष्टा गाउँपालिकामा गाउँपालिका अध्यक्षमका उम्मेदवारी दिएका तिलकबहादुर खड्कासहित आठ जना र वित्थडचिर गाउँपालिकामा दुई जना वडाध्यक्षसहित चार जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।
यस्तै, थलारा गाउँपालिकामा पालिकाका उपाध्यक्षमा उम्मेदवारी दिएका धर्मदेव गिरीसहितका १२ जना, दुर्गाथली गाउँपालिकामा गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका रूपकबहादुर खड्कासहित नौ जना, सुर्मा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका कलकबहादुर बोहरासहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत विमल प्रसाद गौतमले जानकारी दिए ।
बुंगल नगरपालिकामा नगरप्रमुखमा उम्मेदवारी दिएका नरेशबहादुर थापासहित २३ जना, खप्तडछान्ना गाउँपालिकामा १७ जना, केदारस्यूँ गाउँपालिकामा पालिकाको अध्यक्षका उम्मेदवार गणेशबहादुर भण्डारीसहित तीन जना, छविसपाथिभेरा गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार जयराज पण्डितसहित १२ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाको दुर्गम साइपाल गाउँपालिका यतिबेला सम्पर्कविहीन भएका कारण विवरण प्राप्त हुन नसकेको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।
आज उम्मेदवारी फिर्ता लिएका सबैले पार्टीबाट टिकट नपाएको भन्दै आक्रोशित भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा ३३० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भए पनि निर्वाचन आयोगले दिएको समयसीमा भित्र ११२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका २१८ जनाले भने पार्टीको निर्देशनको प्रवाह नै नगरी आफ्नो उम्मेदवारी कायमै राखेका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ वटै पालिकामा ४९४ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।