आसन्न स्थानीय तहको निर्वाचनको माहोल तातेको छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त हुन थालेका छन् । आफ्नो पक्षमा मत पार्नका लागि उम्मेदवारहरू रात दिन चुनावी दौडमा छन् । उम्मेदवारहरूले आफ्ना घोषणापत्रसमेत जारी गरिरहेका छन् । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका पनि उम्मेदवारहरू दैनिकजसो विभिन्न चुनावकेन्द्रित कार्यक्रमहरू गरिरहेका छन् । यस उपमहानगर कांग्रेस नेतृ आरजु राणा देउवाको निर्वाचन क्षेत्र भएको हुँदा केन्द्रको पनि चासो छ । केन्द्रबाट नै यहाँ गठबन्धन गरिएको छ । मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेबाट नेता रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेकपा एमाले तर्फबाट मेयरमा उम्मेदवार दिएका रणबहादुर चन्दसँग उनको चुनावी योजनामा केन्द्रित भएर फरकधारकर्मी कैलाश जोशीले गरेको कुराकानी :
धनगढी उपमहानगरपालिकाको प्रमुखमा तपाईंको उम्मेदवारी किन ?
धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशको विकासको दिशा निर्देश गर्ने क्षेत्र हो । पछिल्लो पाँच वर्षीय कार्यकालमा नेपाली कांग्रेसका नृपबहादुर वडले कुनै काम गरेको पाइएन । उहाँले गरेको पहिलो निर्णय नै अलपत्र छ । यो उपमहानगरपालिकामा विकासका योजना, कार्यालय सबै अस्तव्यस्त छ । यो अस्तव्यस्त धनगढी उपमहानगरलाई व्यवस्थित बनाउन मैले आउनुपर्ने देखियो । मेयरका लागि पार्टीले टिकट दिएपछि मैले उम्मेदवारी दिएको हो । विद्यार्थी जीवनदेखि नै पूर्णकालीन कार्यकर्ता भएर लागेको मैले अहिलेसम्म कुनै लाभका पद पाएको थिइनँ । मैले यो समाज र देशका लागि गरेका कामको मूल्यांकन गर्दै अहिलेको परिस्थितिमा पार्टीले पनि मेरो आवश्कता महशुस गरेको हो ।
निवर्तमान मेयर नृप वडले चुनावी नाराअनुसार काम गरेनन् भन्नुभयो, तपाईंका योजना चाहिँ पूरा हुन्छन् भन्ने कसरी जनताले विश्वास गर्ने हो ?
म गर्न नसक्ने कुरा बोल्दिनँ । जे बोल्छु त्यो गर्छु । निवर्तमान मेयरले धनगढीका अतिक्रमित खोलानाला खाली गर्छु भनेर घोषणा गर्नुभएको थियो तर, कार्यकाल सकिँदासम्म त्यो घोषणा पूरा गर्नु भएन । पहिलो निर्णय नै उहाँले पूरा गर्न सक्नुभएन । अनि उहाँलाई विश्वास गर्ने कुरा भएन । उहाँ त सर्वदलीय संयन्त्रदेखि नै स्थानीय सरकारसम्म त्यही धनगढी उपमहानगरमा हुनुहुन्थ्यो तर, अहिले पनि काम शून्य देखियो र यस कारण धनगढीवासी परिवर्तन चाहनुहुन्छ ।
विकासको अवस्था हेर्नुस् दयनीय छ । उपभोक्ता समितिमा पार्टीका मान्छे भर्ती गरेर काम गुणस्तरहीन गर्ने, भ्रष्टाचार गर्ने काम देखिएको छ । त्यस कारण यो निवर्तमान नेतृत्वबाट सबै निराशा छन् । यसको विकल्प हामी नै हौँ ।
धनगढी उपमहानगरमा भ्रष्टाचार भयो भन्ने कुरा उठाउनु भयो, तर तपाईंसँग भ्रष्टाचारमुक्त बनाउने योजना के छ ? अब जनतालाई कसरी उत्साहित बनाउनुहुन्छ ?
मैले अघि पनि भने जे बोल्छु त्यो गर्छु । नसकिने कुराहरू म बोल्दा पनि बोल्दिनँ, सुशासन कायम गर्ने कुरामा मेरो दृढ संकल्प छ । यो व्यवहारमा देखाउँछु । अहिले देखिएको ढिलासुस्ती, अनियमितता लगायतको बेथिति मेरो कार्यकालमा देखिने छैन ।
तपाईंले लामो समय राजनीति गर्नुभयो अब त्यो राजनीति गर्दाको लगानी उठाउन मेयर बन्न लाग्नु भएको त होइन ?
म विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेको व्यक्ति । अनेरास्ववियुबाट सुरु गरेको मेरो राजनीतिक यात्रा जिल्लाका विभिन्न क्षेत्र हुँदै केन्द्रसम्म पुगेँ । मैले योबीचमा कुनै आम्दानी हुने पद लिएको छैन । मैले कुनै व्यवसाय पनि गरेको छैन । मैले राजनीति र समाजसेवा नै गरेँ । मेरो जीवन खुल्ला किताब हो सबैले पढ्न पाउँछन् । यस्तो सदा जीवनमा मैले पैसा नै कमाउन चाहेको भए अन्य काम गर्थें नि त्यस कारण मेरो उद्देश्य पैसाभन्दा पनि विशुद्ध समाजसेवा नै थियो र म जनप्रतिनिधि बनेर पनि म सेवा नै गर्ने हो । म यो समाजका लागि जन्मेको हुँ विशुद्ध सेवा गर्नका लागि म नगरको प्रमुखमा आउन खोजेको हुँ । मेरो विगत हेर्दा हुन्छ, कतै कुनै दाग लागेको छैन । त्यस कारण सबै उम्मेदवारभन्दा म मात्र योग्य छु भन्ने लाग्छ । मेरो राजनीतिक जीवन कुनै स्वार्थसँग जोडिएको छैन । मेरो पूरै ऊर्जावान समय यही समाजका लागि खर्चेको छु त्यस कारण मलाई अझ सेवा गर्ने अवसर धनगढीवासीले दिनुहुने छ ।
तपाईंले जित्ने आधार के–के छन् ?
जित्ने आधार भन्नु पर्दा संगठन नै हो । हाम्रो पार्टीका गुटरहित संगठन रहेको छ । सबैतिर मिलाएर समावेशी तरिकाले उम्मेदवार बनाएका छौँ । त्यसै पनि एमाले पार्टीप्रति जनताका आस भरोसा बढेको छ । मेरो इमानदारिता देखेर पार्टीले पनि मलाई उम्मेदवारी अगाडि सारेको छ । विकासका एजेण्डाहरू लिएर जनतामाझ जाँदै छु । निवर्तमान नेतृत्व ले गरेका बेथिति लिएर जनता माझ गएका छौँ । यी नै मेरो जित्ने आधार हुन् ।
तपाईंका चुनावी एजेण्डा के–के छन् ?
धनगढी बजार क्षेत्रलाई सफा सुग्घर र व्यवस्थित बनाउने मेरो पहिलो प्राथमिकता हुन्छ, बाटोको अवस्था, पार्किङ, अटो रिक्साले बजार जाम परिरहेको छ । जथाभावी फोहोरले धनगढी कुरूप छ, पहिलो नम्बरमा यो व्यवस्थित गर्ने छु । यो सहरलाई व्यवस्थित गर्ने जिम्मा जनप्रतिनिधिको हो । तर यसमा निवर्तमान धनगढीका मेयरको ध्यान गएको पाइँदैन । परम्परागत रूपमा चलेको धनगढीलाई आधुनिकीकरण गर्न सकिएन, आधुनिक शहर बनाउने मेरो प्राथमिकता रहने छ ।
धनगढी उपमहानगरपालिकाका १९ वटा वडाका धेरै जनता गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, विद्युतबाट बञ्चित छन् । धेरैले पायो होला अझै निम्न वर्गका नागरिकले पाउन सकेका छैनन् । हामी निर्वाचित भएको दुई वर्षभित्र सबै नागरिकलाई स्वच्छ पानी र घरघरमा विद्युत् पुर्याउने लक्ष्य छ ।
धनगढीमा अव्यवस्थित बसोबासको निकै समस्या छ । नेकपा एमालेको सरकार भएका बेला आयोग बनेको थियो । काम गरिरहेको आयोगलाई विघटन गरिदियो । धनगढी उपमहानगरपालिकाले त्यो बेला जग्गाधनी पुर्जा वितरण प्रक्रियामा ढिला गरे पनि धेरै पालिकाले त्योबेला नै वितरण शुरु गरिसकेका थिए । त्यतिबेलाको मेयरले चाहेको भए जग्गाधनी पुर्जा वितरण गरेर सकिन्थ्यो, अब हामी त्यो काम गर्नेछौँ ।
माध्यमिक शिक्षासम्म स्थानीय सरकारले हेर्छ । तर, सामुदायिक विद्यालयको गुणस्तर बढाउने विषयमा विगतका जनप्रतिनिधिको ध्यान गएन । हामी यसको सुधार गर्छौ । र घर घरमै ज्येष्ठ नागरिक भत्ता, घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार गर्ने स्वास्थ्यका योजना ल्याउनेछौँ सबै वडामा स्वास्थ्य चौकी हुने छन् ।
शिवपुरी धाम, बेहडाबाबा मन्दिर लगायतका पर्यटकीयस्थल छन् । भादा होमस्टे, रानाथारू होमस्टेको बिकास गरी पर्यटन प्रवर्द्धन गर्ने छौँ । धनगढी डुबानको समस्या उस्तै छ, मोहना र खुटियाले पूरै धनगढी डुबाउँछ, यो डुबान समस्या समाधानका लागि हामीले केन्द्रमा पहल गर्ने र हामी आफैँले समाधान गर्ने कुरामा जोड रहन्छ ।
सामुदायिक वन धेरै छन् । ती वनहरूसँग सहकार्य गरेर घरेलु उद्योग स्थापना गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा हाम्रो जोड रहने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।