जुम्लामा माओवादीको घोषणा पत्र : सबै स्थानीय तहका युवा/युवतीलाई रोजगारको ग्यारेन्टी

नेकपा माओवादी केन्द्र जुम्लाले घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त घोषणा पत्रमा युवा/युवतीलाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रले विगत वर्षदेखि विकास निर्माणमा खर्च गरिने सम्पूर्ण रकम रोजगारका लागि खर्च गरिने प्रतिबद्धता जनाएको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले भने, 'सबै स्थानीय तहमा रहेका बेरोजगार युवा–युवतीलाई रोजगारको ग्यारेन्टी गरिनेछ । हाल विकास निर्माणसँग रोजगारलाई जोडिने नीति लिइरहेको अवस्थामा आगामी दिनमा रोजगारसँग विकास निर्माण जोडिने नीति लिइनेछ ।'
 
रोजगारी दिइएका सम्पूर्ण युवा–युवतीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन क्षेत्र,वातावरण सरसफाइ सबै स्थानीय तह र नागरिकको सुरक्षाका साथै सामाजिक कार्यमा लगाइनेछ । 

वडा सदस्यदेखि गाउँपालिका नगरपालिका अध्यक्षसम्म र रोजगारी दिइएका सम्पूर्ण जनशक्तिको तलब भत्ता समान रहनेछ । रोजगारी दिइएका व्यक्तिको क्षमताअनुसार कामको जिम्मा दिइने उक्त घोषणापत्रमा उल्लेख गरिएको छ । गाउँपालिका नगरपालिकाका अति आवश्यक रहेका ठूला निर्माणका कामका लागि प्रदेश र संघीय सरकारको सहयोग लिइने बताइएको छ ।

रोजगारीमा २० वर्षदेखि ६० वर्षभित्र रहने
 
रोजगारीमा खटिने व्यक्तिको उमेरको हकमा २० वर्षदेखि ६० वर्षभित्र रहनेछ । विभिन्न शीर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिको हकमा उनीहरूलाई (रोजगारी वा जीवननिर्वाह भत्ता) मध्ये एउटा रोज्न दिइनेछ । 

व्यक्तिको क्षमताअनुसार काम दिइने
 
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य महतले रोजगारीको समय अवधि एक वर्षको हुने बताए । रोजगारी दिइएका व्यक्तिलाई क्षमताअनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिकाभित्रका रोजगार नपाएका सबै घरपरिवारलाई हुनेछ ।
 
माओवादी केन्द्रका उम्मेदवारको प्रतिबद्धता पत्र

विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्षबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दाको मितिबाटै पार्टीको घोषणा पत्रलाई आत्मसात गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १८:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया